धरान । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजका कार्यालय प्रमुख डा. रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादवविरुद्ध घूस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा दुवै जनाविरुद्ध एक लाख ३२ हजार ३ सय ५० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार डा. दासले कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदा पशु चौपायामा खोप लगाउने कार्यक्रमका लागि नियुक्त भ्याक्सिनेटरहरूले कानूनबमोजिम पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिने नाममा २० प्रतिशत रकम कमिसन मागेका थिए । उक्त रकम असुल्न उनले सवारी चालक भोगेन्द्र यादवसँग मिलेमतो गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार भुक्तानी रकम उपलब्ध गराइदिने सर्तमा कम्तीमा २० प्रतिशत घूस दिन दबाव दिएको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई एक लाख ३२ हजार ३ सय ५० रुपैयाँ घूस रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानबाट दुवैले सेवाग्राहीलाई घूस बुझाउन बाध्य बनाएको पुष्टि भएको आयोगको दाबी छ । आयोगले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) बमोजिमको कसूर भएको ठहर गर्दै एक लाख ३२ हजार ३ सय ५० रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिबाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।