विजयपुर । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबाटै संसदमा र आम नागरिकबाट सडकमा सरकारको आलोचना हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बन्द तथा घाटामा रहेका सरकारी उद्योगलाई पुनर्जीवन दिने प्रयास भइरहेको दाबी गरेका छन्।
तर, पछिल्लो समय ग्यास अभावका कारण नागरिकले चुलो बाल्न नपाउने अवस्था, स्वास्थ्य संस्थामा बढ्दो बिरामीको चाप तथा राहदानी प्राप्त गर्न १५ दिनसम्म कुर्नुपर्ने अवस्थाबारे सडकदेखि संसदसम्म आफ्नै दलका सांसदहरूले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्री शाहले भने अन्य विषयलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा नियत सफा र जिम्मेवारीप्रति इमान्दार भएर काम गर्ने हो भने चुनौतीपूर्ण अवस्थामा समेत सुधारका नयाँ ढोका खोल्न सकिने उल्लेख गरेका छन्।
उनका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याउने, उत्पादन र प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा व्यवस्थापन सुधार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। निरन्तरको सहजीकरण, उत्प्रेरणा, समन्वय र ‘टिमवर्क’का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको प्रधानमन्त्री शाहको दाबी छ।
प्रधानमन्त्रीका अनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनले बताएका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ।
सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत नेपाल औषधि लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ। हाल लिमिटेडबाट ११ प्रकारका औषधि उत्पादन भइरहेको छ।
त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको उनले उल्लेख गरेका छन्। परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ।
नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार आएको प्रधानमन्त्री शाहको दाबी छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको र यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी भएको उनले बताएका छन्। उक्त अवधिमा निगमको सीट उपयोगिता ८६ प्रतिशत पुगेको छ।
यस अवधिमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत भुक्तानी गरिएको प्रधानमन्त्रीको भनाइ छ।
त्यसैगरी, दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको दूधको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको उनले बताएका छन्। आठ महिनासम्म रहेको करिब ७२ करोड रुपैयाँको भुक्तानी चक्रलाई घटाएर दुईदेखि तीन महिनामा करिब ३५ करोड रुपैयाँमा झारिएको दाबी गरिएको छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसार सुधारका प्रयास सुरु भएपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको छ। दैनिक औसत ६० लाख रुपैयाँ रहेको राजस्व संकलन बढेर ९० लाख रुपैयाँ पुगेको उनले बताएका छन्। कानुनविपरीत विगतदेखि कर्मचारीलाई दिइँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको दाबीसमेत गरिएको छ।
डीडीसीले खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट पुनः चिज उत्पादन सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
यसैगरी, सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएयता ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको प्रधानमन्त्री शाहले बताएका छन्। गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको दाबी छ।
हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको र चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको प्रधानमन्त्रीले बताएका छन्। निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा समेत वैद्यखाना आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम राख्न सके रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योगमा समेत नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्। उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउने सरकारको यात्रामा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनले बताएका छन् ।