धरान । विभिन्न विवादमा मुछिँदै आएको धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय फेरि नयाँ विवादमा तानिएको छ ।

विद्यालयका प्रधानाध्यापक अमर चेम्जोङ लिम्बूले आफ्नै श्रीमतीलाई कार्यालय सहयोगी÷लेखापालमा नियुक्ति दिलाउन भूमिका खेलेको विषय बाहिर आएको छ । विद्यालयले २०८२ साल पुस १७ गते तीन पदका लागि (नेपाली, अङ्ग्रेजी शिक्षक र कार्यालय सहयोगी÷लेखापाल) खुलाएको विज्ञापन रद्द भएपश्चात् पुनः गत असार २२ गते खुलाएको विज्ञापनका आधारमा नियुक्ति दिने क्रममा लेखापालमा विद्यालयका प्रअ चेम्जोङकै श्रीमती तृष्णा लिम्बू नियुक्तिका लागि सिफारिसमा परेकी हुन् । उक्त पदमा २१ जनाले आवेदन दिएका थिए । दोस्रो पटक खुलाएको विज्ञापनअनुसार २१ जना प्रतिस्पर्धीमध्ये साउन १६ गते सम्पन्न पहिलो पत्रको परीक्षामा १९ जना परीक्षार्थी सहभागी थिए । 

दोस्रो पत्रको परीक्षाका लागि सात जना उत्तीर्ण भएका थिए । त्यसमध्येबाट अन्तरवार्ताका लागि चार जना छनोट भएका थिए । छनोट भएकामध्ये लेखापालको सफल उम्मेदवारमा तृष्णाको नाम रहेको थियो । पहिलो वैकल्पिकमा दीपा भट्टराईलगायत तीनजनाको नाम रहेको धरान उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत ध्रुवराज खड्काले जानकारी दिए । अन्य पदमध्ये नेपाली शिक्षकको रोकिएको छ भने अङ्ग्रेजी शिक्षक पदका लागि नियुक्ति प्रक्रिया सम्पन्न भएको बताइएको छ । 

नाताकै मान्छे रहेको खबर बाहिरिएपछि पहिलो वैकल्पिक उम्मेदवार दीपा भट्टराईले धरान ११ नम्बर वडा कार्यालय र धरान उपमहानगरपालिकाका शिक्षा महाशाखामा निवेदन दिएकी थिइन् । यसबारे ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा दीपाले भनिन्, “सफल उम्मेदवार चाहिँ आफ्नै नाताको पर्ने सुनेपछि निवेदन हालेको हो । मैले साउन १८ गते सोमबार निवेदन दिएको थिएँ ।” उनका अनुसार निवेदन परेपछि तृष्णा लिम्बूले साउन १९ गते राजीनामा बुझाएको भन्ने कुरा आएको छ । यता शिक्षा महाशाखा अधिकृत खड्काले राजीनामा आएको र नियुक्ति बदर गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाएको बताए । 

परीक्षाको छनोट समितिमा प्रअ चेम्जोङ स्वयम् रहेका थिए । प्रअ चेम्जोङले शिक्षा नियमावलीले दिएको अधिकार प्रयोग गरी समितिमा बसेको दाबी गरेका छन् । “शिक्षा नियमावलीमा सदस्य– सचिव बस्ने भन्ने प्रावधान देखे पछि परीक्षाको छनोट समितिमा बसेको हुँ” उनले ब्लाष्टकर्मीलाई आफ्नै कार्यकक्षमै भने, “त्यसमा मेरो कुनै इन्ट्रेस पनि थिएन । मेरो भूमिका पनि थिएन । इन्टरभ्यूमा पनि बस्न हुँदैन थिएछ । मेरो त्रुटि भयो ।” 

तर यस घटनामा रकमको राम्रै चलखेल भएको एक गोप्य स्रोत बताउँछ । उक्त स्रोतका अनुसार यस घटनामा शिक्षा महाशाखाभित्रै दुई महिला कर्मचारीबीच हात हालाहालको स्थितिसम्म सिर्जना भएको थियो । उक्त घटनालाई मिलाउने प्रयास गर्दा पनि नमिले पछि घटना गुपचुपमा मिलाउन धरान–२ स्थित देशीलाइनको एक होटलमा लगिएको थियो । प्रअले विज्ञ नियुक्तिदेखि प्रश्नपत्रसम्म चुहावट गरेको र यसमा शिक्षा महाशाखा पनि सामेल भएको उक्त स्रोतको दाबी छ । तर प्रअ चेम्जोङले विज्ञ नियुक्त गर्दा नियमानुसार विभिन्न कार्यालयबाट विज्ञ नियुक्ति गरिएको दाबी गरे । “प्रश्नपत्र लिक गरेको भन्ने आरोप मात्रै हो”–उनले भने । 

एक जानकार पूर्व विद्यालय निरीक्षक (विनी) का अनुसार कसैले आफ्नो मान्छेलाई नियुक्ति दिनुपर्ने भएमा विज्ञ छनोटदेखि नै चलखेल सुरु हुने गर्दछ । “सबैभन्दा बढी चलखेल हुने भनेको नै विज्ञ छनोटमा हो” –पूर्व विनीले फोनसम्पर्कमा भने । नियमानुसार आफ्नो मान्छे प्रतिस्पर्धी भएको बेला विज्ञ छनोट हुँदाकै बखतदेखि आफूपछिको सिनियरलाई काज दिई बाहिर बस्नुपर्ने उनले बताए । तर यहाँ चाहिँ प्रअ स्वयम् नै सदस्य–सचिवको हैसियतमा परीक्षा छनौट समितिमा बसेका थिए । शिक्षा नियमावलीको ११ औँ संशोधनको नियम ९६ मा प्रअ छनोट समितिको सदस्य–सचिवमा बस्ने व्यवस्था छ । 

यता शिक्षा महाशाखाका अधिकृत खड्काले आफूहरूलाई सफल उम्मेदवार तृष्णा चाहिँ प्रअको श्रीमती हो भन्ने कहीँकतैबाट जानकारी नआएको बताए । सफल उम्मेदवारको नाम आएपश्चात् चाहिँ कहीँकतैबाट गुनासो आएपछि आफ्नै तरिकाले खोजी गर्दा प्रअकै श्रीमती रहेको पाइएको उनले बताए । “कहीँकतैबाट प्रअ लिम्बूकै श्रीमती हो भन्ने आएपछि आफ्नै तरिकाबाट खोजी गर्दा प्रअकै श्रीमती रहेको फेला पार्यौँ ।” त्यसपछि कुनै पनि किसिमको नियुक्ति नदिनू भनेर मौखिक भनियो भने साउन १८ गते ‘फस्ट आवर’मै प्रअलाई नियुक्ति रोक्का राख्नू र सत्यतथ्य के हो भनेर स्पष्टीकरण माग गरेको उनले बताए । “प्रमाण पनि फेला परिसकेपछि नियुक्ति रोक्का राख्नू, सो विषयमा सत्यतथ्य के हो प्रअ स्वयम् उपस्थित भएर तीन दिनभित्र जवाफ पठाउनू भनेर स्पष्टीकरण सोध्यौँ” ब्लाष्टलाई उनले भने, “नियुक्ति बदर भइसकेको छ र राजीनामा पनि आइसकेको छ ।” शिक्षा महाशाखा आर्थिक चलखेलमा परेको भन्ने विषयमा आफुहरू कुनै पनि कार्यमा संलग्न नभएको दाबी गरे । 

यो घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीले पनि चासो देखाएको छ । उसले विद्यालयमा कर्मचारी नियुक्ति प्रक्रियामा गम्भीर अनियमितता र चलखेल भएको खबरप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । उसले भनेको छ, “शिक्षाजस्तो पवित्र क्षेत्रमा हुने यस्ता अपारदर्शी गतिविधि कुनै पनि हालतमा स्वीकार्य छैन । विद्यालय प्रशासन, व्यवस्थापन समिति र धरान उपमपहानगरपालिका शिक्षा महाशाखासँग यस प्रक्रियाको तत्काल र निष्पक्ष छानबिनको जोडदार माग गर्दछौँ ।” यता धरान–१७ का कार्यवाहक अध्यक्ष मनिष विष्टले पनि चासो देखाएका छन् । उनले ब्लाष्टसँगको फोनसम्पर्कमा भने, “हेडसरको आफ्नै श्रीमतीलाई पहिलो नम्बरमा सफल बनाएको भन्ने कुरा चाहिँ सुनियो । अहिले राजीनामा दिइसकेको छ भन्ने कुरा आयो । हाम्रो कुरा चाहिँ वैकल्पिकमा जसको नाम छ, उसले जागिर पाउनुपर्छ भन्ने हो ।”