विराटनगर । उपभोक्तालाई तौलमा ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कोशी ग्यास उद्योगलाई झण्डै ३ लाख रुपैयाँ जरिबाना गरेको छ । 

बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि प्रशासनले बूढीगङ्गा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९० हजार रुपैयाँ जरिबाना गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी पवनराज कोइरालाका अनुसार अनुगमन टोलीले उद्योग परिसरमा रहेका १ सय ४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरेको थियो । परीक्षणका क्रममा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास फेला परेको थियो, जबकि नियमतः एउटा सिलिन्डरमा १४.२ केजी ग्यास हुनुपर्छ ।

यस्तै अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम अर्थात् १४.१८५ केजी मात्र पाइएको प्रशासनले जनाएको छ । ‘उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल (टेयर वेट) परीक्षण गर्दा समेत तोकिएको भन्दा १ सयदेखि १ सय ५० ग्रामसम्म बढी देखियो’ प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले उपभोक्तालाई कम ग्यास दिएर ठगी गरिरहेको पुष्टि हुन्छ ।’

अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनका दिन बन्द पाइएकाले प्रशासनले सो उद्योगविरुद्ध थप कानूनी प्रक्रियासमेत अघि बढाएको छ ।

यसैगरी विराटनगर महानगरपालिका–७ मा रहेको श्रीकृष्ण ट्रेडर्सलाई पनि प्रशासनले कारबाही गरेको छ । अनुगमन टोलीलाई जाँचबुझ र निरीक्षण कार्यमा सहयोग नगरेको भन्दै उक्त ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिबाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले चाडपर्व नजिकिँदै गर्दा बजारमा हुनसक्ने कालोबजारी र ठगी नियन्त्रण गर्न अनुगमनलाई तीव्रता दिएको बताएको छ । एलपी ग्यासको वितरणलाई व्यवस्थित बनाउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न आगामी दिनमा अझ कडा कदम चालिने सहायक प्रजिअ कोइरालाले जानकारी दिए ।