धरान उपमहानगरपालिकाको समयसीमाभित्र बजेट नआएको यो तेस्रो पटक हो । विगतमा नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुबीच हुँदै आएको कुनै न कुनै विवादले रोकिँदै आएको बजेट यस पटक कार्यवाहक नगर प्रमुखको अडानका कारण आउन नसकेको भनिएको छ । उनले सहकारी व्यवस्थापनका लागि छुट्याएको बजेट पर्यटन पूर्वाधारमा कुनै हालतमा लगाउन नहुने अडानले यस्तो परिस्थिति सिर्जना हुँदै आएको बताइएको छ । अर्कोतिर वडाध्यक्षहरुको पनि हलो अड्काउने प्रवृत्ति राम्रो होइन । यसले धरानको हित हुँदैन । उनीहरुको अडानले गर्दा नगर बन्दी बन्दै गएको छ । यो बन्दी बन्ने प्रचलन विगतकै अभ्यासको रुपमा आइरहेको छ । यसो हुनु राम्रो विषय होइन ।
का.वा. नगर प्रमुख अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरुको आरोपप्रत्यारोपले धरानको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक लगायतमा समस्या आउँदै गएको यथार्थलाई भुल्नु हुँदैन । अहिले जुन खालको गतिविधि दोहो¥याइँदै आएको छ, त्यसले धरानको गरिमालाई थप धुमिल्याउँदै गएको छ । यसै पनि धरान उपमहानगरपालिका अन्य विभिन्न कारणले बदनाम हुँदै गएको थियो । यस्ता बदनामीलाई हटाउनका लागि पनि राजनीतिक दलहरुले भूमिका खेल्नुपर्नेमा उल्टो राजनीतिक दलहरुबीचको आरोपप्रत्यारोप हुनु धरानको सिङ्गो इज्जतमाथि नै धब्बा हो ।
यसै पनि विगत वर्षहरुदेखि नै बजेट होलिडे हुँदै आएको यथार्थलाई राजनीतिक दलहरुले भुल्नु हुँदैन । राजनीतिक दलका कारणले आमजनता मारमा पर्नुहुँदैन । यसको प्रभाव कर्मचारी प्रशासनमा पनि पर्छ । यसले कर्मचारीहरुको मनोबल पनि गिर्न सक्छ । यसै पनि बजेट समयमा नआउँदा त्यसको असर चौतर्फी रुपमा हुन्छ । केन्द्रबाट आउने बजेटहरु समयमा आउन सक्दैनन् । बहुवर्षीय योजनाका बजेटहरु रोकिन सक्ने सम्भावनाहरु हुन्छन् । समपूरक तथा अनुदानका कुराहरु पनि समस्यामा पर्छन् । यी समस्याहरु हेर्दा सामान्य देखिए पनि आर्थिक रुपमा यसले ठूलो प्रभाव पारिरहेको हुन्छ भन्ने कुरालाई जनप्रतिनिधिहरुले हेक्का राख्नुपर्छ ।
जनप्रतिनिधिहरुको मनमौजी शासन व्यवस्था हुनु लोकतान्त्रिक मुलुकका लागि हितकर कुरा होइन । जनताले जिताएर गएका प्रतिनिधिहरुले यस्तो प्रवृत्ति देखाउँदै जाने हो भने भोलिका दिनमा ती जनप्रतिनिधहरुलाई कुन हिसाबले भोट दिने भन्ने प्रश्नहरु पनि उब्जिन सक्छ । यसकारणले अहिले जनप्रतिनिधिहरुले आफ्नो हितभन्दा पनि जनताको हितमा काम गर्नुपर्ने अवस्था छ । अब झण्डै एक वर्षको अवधिमा यसै पनि बजेट ढिला आउँदा त्यसको प्रभाव अर्को चुनावबाट जितेर आउने जनप्रतिनिधिलाई पर्न सक्छ । अहिले धरानले हरेक वर्ष घाटा बजेट बनाउँदै आएको छ त्यो घाटा बजेटको प्रभाव हरेक वर्ष पर्दै गएको छ । विशेषगरी विकासे आयोजनाहरुको यसको प्रभाव व्यापक देखिएको छ ।
यसकारण पनि अहिले जनप्रतिनिधिहरुले बजेट ल्याउने बाटो खोज्नुपर्छ । आ–आफ्नो अडानमा रहँदा त्यसको प्रभाव आमजनतालाई पर्छ भने त्यसको दीर्घकालीन असर धरानलाई पर्छ । हामी धरानलाई एउटा उन्नत र समृद्ध सहरको रुपमा पाउँछौँ तर हरेक वर्षको बजेट ढिलापनले धरानको इज्जत र गरिमामा प्रश्न चिह्न उठ्दै आएको छ । यसलाई हटाउनका लागि जनप्रतिनिधिहरुले आआफ्नो इगोलाई त्याग गरेर जनताको हितमा काम गर्नु जरुरी छ । अन्यथा भोलिका दिनमा जनताले प्रश्नमार्फत् होइन, भोटमार्फत् नै उनीहरुलाई जवाफ दिने दिन नआउला भन्न सकिन्न । त्यसकारण पनि बजेट समयमा बनाएर अगाडि बढ्नुको विकल्प छैन ।