काठमाडौं । नेपाली पब्जी मोबाइल टोली होरा एस्पोर्ट्सले पब्जी मोबाइल विश्वकप (PMWC) २०२६ को ग्रान्ड फाइनलमा स्थान पक्का गरेको छ। समूह चरणमा चौथो स्थानमा रहेपछि होरा सिधै अन्तिम चरणमा पुगेको हो। प्रतियोगिता फ्रान्सको पेरिसमा आयोजना भइरहेको छ।
समूह चरणमा विश्वका बलिया टोलीहरूसँग प्रतिस्पर्धा गरेको होराले प्राप्त गरेको स्थानले उसलाई सर्भाइभल स्टेजबाट खेल्नुपर्ने अवस्थाबाट जोगाएको छ। टोलीले यसै चरणबाट ५७ हजार ५०० अमेरिकी डलर पुरस्कार रकमसमेत सुनिश्चित गरेको छ। ग्रान्ड फाइनलमा प्राप्त गर्ने नतिजाअनुसार यो रकम थप बढ्न सक्नेछ।
होरा एस्पोर्ट्सको यो सफलता नेपाली ई–स्पोर्ट्सका लागि अर्को महत्त्वपूर्ण उपलब्धि हो। यसअघि टोलीले २०२५ मा "PUBG Mobile Super League Central & South Asia Spring" प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै PMWC का लागि छनोट भएको थियो। त्यससँगै होरा पब्जी मोबाइल विश्वकपमा पुग्ने पहिलो नेपाली टोली बनेको थियो।
अब होराले विश्वस्तरीय टोलीहरूसँग "PMWC २०२६ को ग्रान्ड फाइनलमा" उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। समूह चरणपछि कुल १० टोली ग्रान्ड फाइनलमा पुगेका छन् भने अन्य टोलीले सर्भाइभल स्टेजमार्फत अघि बढ्ने बाटो पाएका छन्।
दक्षिण एसियाबाट भारतका "GodLike Esports" र "Orangutan" पनि ग्रान्ड फाइनलमा पुगेका छन्। यससँगै नेपाली टोली होरासँग अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रदर्शन थप बलियो बनाउने अवसर आएको छ।