विजयपुर । कोशी प्रदेशमा पछिल्लो तीन आर्थिक वर्षमा करिब ६ हजार प्रतिवादी फरार रहेको पाइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म ५ हजार ९ सय ३४ जना प्रतिवादी फरार रहेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ९ सय ४३, २०८१/०८२ मा १ हजार ६ सय ६६ र २०८२/०८३ मा २ हजार ३ सय २५ जना प्रतिवादी फरार रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ३ सय ८७ मुद्दा दर्ता हुँदा १ हजार ९ सय ४३ जना प्रतिवादी फरार रहेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा मुद्दा दर्ता संख्या बढेर ९ हजार ४ सय ६१ पुग्दा फरार प्रतिवादीको संख्या केही घटेर १ हजार ६ सय ६६ मा झरेको थियो । तर, आर्थिक वर्ष २०८२/०८३ मा भने फरार प्रतिवादीको संख्या पुनः उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । उक्त वर्ष ९ हजार ८ सय ६३ मुद्दा दर्ता हुँदा २ हजार ३ सय २५ जना प्रतिवादी फरार रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या ६ सय ५९ ले बढी हो ।