धरान । सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयले खुलाएको शिक्षक र लेखापालको विज्ञापनमा ‘विज्ञापनबाटै’ कैफियत भेटिएको छ ।
आवश्यकतासम्बन्धी विज्ञापन विद्यालयको फेसबुक पेजमा हालेको र उक्त पेजमा हालिएको विज्ञापनमा दिएको सम्पर्क नम्बरमा फोन नै नलाग्ने र ११ वटा नम्बर दिइएको पाइएको छ । यो विषयमा सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर समितिले सच्याउन माग गर्दै आएको थियो । विद्यालयले तीनवटा पदका लागि विज्ञापन खुलाएको थियो । जसमा नेपाली, अङ्ग्रेजी विषयका शिक्षक र कार्यालय सहायक कर्मचारी/लेखा माग गरेको थियो ।
गत असार २२ गते गरिएको विज्ञापनमा सम्पर्क नम्बर ९८४११७१२७९ र अर्को नम्बर ९८४२०२४४४६३ दिइएको थियो । पहिलो नम्बर स्कुलका प्रधानाध्यापक अमर चेम्जोङ लिम्बूको हो । उक्त नम्बरमा ब्लाष्ट प्रतिनिधिलेसमेत सम्पर्क गर्दा स्वीचअफ रहेको पाइएको थियो । दोस्रो नम्बर ११ वटा रहेकाले उक्त नम्बरमा फोन नै लाग्दैनथ्यो । यो विषयमा प्रअ चेम्जोङलाई भेट गरी सोध्दा ‘अहिले गर्नुस् त लाग्छ नि !’ भन्दै जवाफ दिएका थिए ।
जबकि यो विज्ञापनका लागि शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीको मिति २०८३ असार २२ गतेको चलानी नम्बर १५१६ र शिक्षा युवा तथा खेलकुद महाशाखाको २०८३ असार २२ को चलानी नम्बर ८४३३ को पत्रको विज्ञापन अनुमति दिइएको थियो । यसमा सुरुदेखि नै सेटिङको गन्ध आएको रास्वपाले फेसबुकमा हालेको विज्ञप्तिमा पनि खुलाएको थियो । हामीले रास्वपाका नगर सभापति सुमन श्रेष्ठलाई जिज्ञासा राख्दा भने, “हामीले विज्ञापनदेखि नै हेरिरहेका थियौँ । एउटा त ११ वटा नम्बर हालेको थियो । एउटा नम्बरमा उठाउँदैनथे । प्रष्ट चाहिँ के देखियो भने सुरुदेखि नै नियोजित थियो ।” उनका अनुसार नम्बर सच्याउनका लागि शिक्षा महाशाखामा गई ध्यानाकर्षण पनि गराएका थियौँ तर सुधारेनन् । त्यहीँबाट पनि केही शङ्का गर्ने ठाउँहरू उत्पन्न भएको उनले बताए ।
यसबारे ब्लाष्टकर्मीले जिज्ञासा राख्दा शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत ध्रुवराज खड्काले गल्तीवश ११ वटा नम्बर हालिएको बारेमा विज्ञापन निकालेपछि थाहा पाएको बताएका थिए । उनले यस्ता सानातिना विषयलाई ठूलो मुद्दा बनाउन नहुने आशयसमेत व्यक्त गरेका थिए । यस सूचनामध्ये लेखापालको विषय विवादित बनेको छ । यस घटनामा नातावाददेखि राजनीतिक कनेक्सनसम्म रहेको पाइएको छ । लेखापालमा प्रअ स्वयम् छनोट समितिको संयोजकमा बसेर श्रीमती तृष्णा लिम्बूलाई सफल उम्मेदवार बनाएका थिए । शिक्षा नियमावलीले दिएको अधिकारअनुसार नै आफू समितिमा बसेको र आफ्नो कुनै स्वार्थ नरहेको बताएका थिए । उनले आफ्नो त्रुटि पनि स्वीकारेका थिए । उनलाई यस विषयमा शिक्षा महाशाखाले स्पष्टीकरण पनि सोधेको थियो ।
यो घटनामा नयाँ नयाँ ट्वीस्ट आउँदै गएको छ । यतिसम्म कि शिक्षा महाशाखामा कार्यरत दुई महिला कर्मचारीबीचमा विवादसम्म भएको थियो । खासमा उक्त विद्यालयको अनुगमनको अधिकारप्राप्त व्यक्तिलाई जानकारी नै नदिई भित्रभित्रै काम गरिएपछि एक महिला कर्मचारीले कुरा उठाएकी थिइन् । यही विषयमा उनीहरूबीच विवाद भएको थियो । उक्त विवाद मिलाउन लामै रस्साकस्सी चलेको थियो ।
उक्त विवाद धरान–२ स्थित देशीलाइनको एक होटलमा मिलाइएको थियो । लेखापालको विषयमा वैकल्पिक उम्मेदवार दीपा भट्टराईले साउन १८ गते सोमबारका दिन निवेदन दिएपश्चात् सोही दिन नै लेखापालमा सफल उम्मेदवार तृष्णा लिम्बूले ‘घरायसी समस्याको कारण देखाउँदै नियुक्ति पत्र लिन समर्थ नभएको’ उल्लेख गरेर विद्यालयलाई जानकारी गराएकी थिइन् । यसमा राजीनामा भन्ने विषय उल्लेख गरिएको छैन । तर विद्यालय तथा शिक्षा युवा तथा खेलकुद महाशाखाले यसलाई राजीनामाको रूपमा व्याख्या गर्दै आएको छ ।
फारम भरेकाहरूले विज्ञापन कुनै पत्रपत्रिकामा नभई विद्यालयको फेसबुक पेजमा देखेर निवेदन दिएको बताएका छन् । विद्यालयले आफ्नो सूचनापाटीमा उक्त विज्ञापन टाँस गरेको पाइँदैन । जबकि विद्यालयको सूचना पाटीमा जेठ ३० गतेसम्मको सूचना चाहिँ पाइएको छ । झण्डै २१ दिनपश्चात्को विज्ञापन चाहिँ भेटिँदैन । फेसबुक पेजमा मात्रै हालेको पाइएको छ । तीन पदका लागि खुलाइएको विज्ञापनमा अङ्ग्रेजी विषयको शिक्षक र लेखापाल छनोट गरिएको थियो भने नेपाली विषयको शिक्षकमा सेटिङ नमिलेका कारणले हालसम्म नियुक्ति स्थगित गरेको बुझिएको छ । यसमा आफन्तलाई भर्तीका लागि तयार गरिएको एक स्रोतले जनाएको छ । यो पदका लागि धरान उपमहानगरपालिकाका एक उच्च पदस्थ जनप्रतिनिधिको आफन्तलाई भर्ती गरिने तयारी गरिएको छ ।
“नेपालीमा अरूको पनि निवेदन आएको थियो रे । उहाँहरूलाई राखिएन । परीक्षामै लगिएन भन्ने आएको छ । त्यहाँ स्वार्थको मान्छे परेनन् रे” रास्वपा नगर सभापति श्रेष्ठले भने, “प्रभावमा पारेर जागिर खाने कुरामा पार्टीले खबरदारी गर्छ । यस्ता विषयमा पार्टीले शून्य सहनशीलता अपनाउँछ ।” यस विषयमा ब्लाष्टले पनि केही तथ्यहरू फेला पारिसकेको छ भने यसबारे थप अध्ययन गरिरहेको छ । ज्ञानोदय मा.वि.ले खुलाएको तीनवटा पदको विज्ञापनमा नातावाद र राजनीतिक कनेक्सन कस्तो छ भन्ने विषयमा ब्लाष्टले चाँडै नै सार्वजनिक गर्नेछ ।