धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक पदमा ३६ जनाले आवेदन दिएका छन् ।
प्रतिष्ठानको पदाधिकारी छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ अनुसार आह्वान गरिएको आवेदनमा रेक्टर पदका लागि चार जना, रजिष्ट्रारका लागि १८ जना र अस्पताल निर्देशकका लागि १४ जनाको आवेदन परेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले मङ्गलबार साँझ ५ बजेसम्म प्राप्त आवेदनका आधारमा उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो । रेक्टर पदका लागि प्रा.डा. काजीराम अधिकारी, प्रा.डा. रोबिन मास्के, प्रा.डा. कृष्ण पोखरेल र प्रा.डा. शिवेन्द्र झाले आवेदन दिएका छन् ।
त्यस्तै रजिष्ट्रार पदका लागि डा. अरुणकुमार सिंह, रमेशकुमार यादव, डा. विपेश आचार्य, मदनकुमार साह, प्रा.डा. अशोककुमार झा, कमलकुमार राया, जितेन्द्रकुमार यादव, डा. दाबलबहादुर धामी, धरणीधर बराल, प्रा.डा. काजीराम अधिकारी, रूपा सिघाँची, विनोदकुमार यादव, प्रदीप शाक्य, प्रा.डा. शमशेर श्रेष्ठ, सागरकुमार ताम्राकार, डा. इन्द्रमोहन झा, किशुनदेव मेहता र डा. प्रविन श्रेष्ठले आवेदन दिएका छन् ।
अस्पताल निर्देशक पदका लागि डा. अरुणकुमार सिंह, डा. जितेन्द्र शाह, डा. रितेश चौधरी, डा. दाबलबहादुर धामी, प्रा.डा. अशोककुमार यादव, डा. इन्द्रकुमार लिम्बू, प्रा.डा. दीपकुमार यादव, डा. सेराज अहमद खान, डा. जगतनारायण प्रसाद, डा. विम्मी सिंह, डा. मधुर बस्नेत, डा. विवेक कट्टेल, डा. प्रविन श्रेष्ठ र डा. अजयकुमार झाले आवेदन दिएका छन् । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत् प्रक्रिया अघि बढाएसँगै बीपी प्रतिष्ठानमा पनि पदाधिकारी चयन प्रक्रिया अघि बढेको हो । प्रतिष्ठानका रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक लामोसमयदेखि रिक्त रहेको छ । अब प्राप्त आवेदनमाथि आवश्यक मूल्याङ्कन तथा छनोट प्रक्रिया पूरा गरी पदाधिकारी नियुक्तिका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिने प्रतिष्ठानले जनाएको छ ।