जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली युवती राजीवंशी लक्ष्मी मृत अवस्थामा फेला परेको घटनाले विदेशमा रहेका नेपाली महिलाको सुरक्षा अवस्थामाथि फेरि प्रश्न उठाएको छ। फुकुओकाको नाकागावा नदीमा उनको शव फेला परेपछि प्रहरीले घटनालाई हत्या प्रकरणका रूपमा अनुसन्धान अघि बढाएको छ। लक्ष्मी जापानमा व्यावसायिक शिक्षा अध्ययन गर्दै रेस्टुरेन्टमा पार्टटाइम काम गर्दै आएकी थिइन्।
प्रहरीका अनुसार लक्ष्मी अगस्ट १८ राति करिब १०स्३० बजेसम्म काममा थिइन्। त्यसपछि उनी घर फर्केको अनुमान गरिएको छ। भोलिपल्ट बिहान करिब ५स्४६ बजे तेन्जिन क्षेत्र हुँदै बग्ने नाकागावा नदीमा उनको शव फेला परेको थियो। शवको अनुहार र टाउकोमा चोट देखिनुका साथै हातमा आफूलाई जोगाउने क्रममा लागेको हुनसक्ने घाउ समेत भेटिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
घटनाको अनुसन्धान गर्दै जाँदा लक्ष्मी बस्ने घरको शयनकक्षमा रगतका दाग र संघर्ष भएको संकेत भेटिएको प्रहरीले जनाएको छ। उनको घर नदीमा शव भेटिएको स्थानभन्दा करिब दुई किलोमिटर माथिल्लो भागमा रहेको बताइएको छ। प्रहरीले उनीमाथि घर फर्किएपछि आक्रमण भएको हुनसक्ने आशंका गर्दै शव घरबाट नदीसम्म कसरी पुर्याइयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
पछिल्लो अनुसन्धानमा घटनामा एकभन्दा बढी व्यक्ति संलग्न भएको हुनसक्ने सम्भावनालाई समेत प्रहरीले हेर्न थालेको छ। यद्यपि हालसम्म कुनै संदिग्धको नाम सार्वजनिक गरिएको छैन। घटनाको उद्देश्य र वास्तविक घटनाक्रम पनि स्पष्ट भइसकेको छैन। त्यसैले बहुपक्षीय संलग्नताको विषयलाई प्रहरीले अनुसन्धानको एउटा कोणका रूपमा मात्र हेरेको छ।
लक्ष्मीको घटनाले विदेशमा अध्ययन, रोजगारी तथा विभिन्न अवसरका लागि पुगेका नेपाली महिलाको व्यक्तिगत सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। विदेशमा नेपाली समुदायको संख्या बढ्दै जाँदा सुरक्षित कार्यस्थल, बसोबास र आपत्कालीन सहयोगको पहुँच पनि महत्त्वपूर्ण विषय बन्दै गएको छ। फुकुओका घटनाको वास्तविकता अनुसन्धानबाट खुल्दै जानेछ, तर एक नेपाली युवतीले ज्यान गुमाएको यो घटनाले विदेशमा रहेका नेपालीको सुरक्षा र जोखिमबारे थप गम्भीर बहसको आवश्यकता औंल्याएको छ।