भोजपुर । २०७६ सालको फागुन। प्रकृतिले पालुवा फेर्दै थियो। टेम्के पहाडका लेकमा गुराँस र चिमाल फुल्ने तयारीमा थिए। तर, यही बेला कोरोना महामारी र लकडाउनले गाउँ–सहर सुनसान बनायो।
लकडाउनको सुनसान समयलाई सिर्जनशील बनाउने सोच बनाए टेम्केमैयुङ गाउँपालिका–४, नागीका नरेश राईले। उनले आसपासका खोला–खोल्साबाट ढुङ्गा खोजेर साथीभाइसँग भएका औजारको सहयोगमा पत्थर कुँद्न थाले।
नरेशले मूर्तिकला औपचारिक रूपमा सिकेका होइनन्। उनी आफ्नो सीपलाई प्रकृतिको उपहार मान्छन्। उनी भन्छन्, “मान्छेमा इच्छाशक्ति भयो भने कुनै पनि सिर्जनाका लागि गुरु नै थाप्न नपर्ने रहेछ।”
करिब दुई वर्ष लगाएर उनले पत्थरमा मानव जीवन, खोला, पहाड, हिमाल, वनजंगल तथा सर्प, चरा, भ्यागुता, गोही लगायत जीवजन्तुको आकृति उतारेका छन्। उनका मूर्तिमा प्रकृति र मानव जीवनबीचको सम्बन्धसँगै मानिसबीचको सद्भावको सन्देशसमेत देखिन्छ। टेम्केमैयुङ–९ स्थित सिकारीपोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत लुइँटेल नरेशको कला टेम्के पहाडमा राख्न सके पर्यटकका लागि आकर्षण बन्न सक्ने बताउँछन्। हाल नरेशले सुम्निमा, पारुहाङ र सरस्वती लगायतका मूर्तिसमेत बनाएर सम्बन्धित व्यक्तिलाई बुझाइसकेका छन्। उपयुक्त सार्वजनिक स्थानको अभावमा घरमै कला संरक्षण गरिरहेका नरेश भविष्यमा करिब १० मिटर लामो सुरुङजस्तो गुफा बनाएर आफ्ना मूर्तिहरू कलात्मक ढंगले सजाउने योजनामा छन्।
स्थानीय सरकारले यस्ता कला र सीपको संरक्षण तथा प्रवद्र्धन गर्दै उपयुक्त स्थान र सहयोग उपलब्ध गराउन सके नरेशजस्ता सिर्जनशील युवाको प्रतिभा उजागर हुनुका साथै पर्यटन र रोजगारीको नयाँ सम्भावना समेत खुल्न सक्छ।