विजयपुर । स्थानीय स्काउट कार्यालय धरानको आयोजना तथा शिक्षा सदन माध्यमिक विद्यालय धरान–१५ को व्यवस्थापनमा आयोजित बृहत् पाककला प्रतियोगितामा माउण्ट हर्मोन विद्यालयको स्काउट ट्रुप प्रथम भएको छ ।

प्रतियोगितामा आशा एकेडेमीको स्काउट ट्रुप द्वितीय, शिक्षा सदन माविको स्काउट ट्रुप तृतीय तथा किरातेश्वर माविको स्काउट ट्रुप सान्त्वना प्राप्त भएका छन् । स्थानीय स्काउट कार्यालयको वार्षिक कार्यतालिकाअनुसार आयोजित प्रतियोगितामा धरानका संस्थागत तथा सामुदायिक गरी ३१ विद्यालयका स्काउट ट्रुप सहभागी भएका थिए । शिक्षा सदन माविको प्राङ्गणमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूले परम्परागत शैलीमा दाउराको आगो बालेर विभिन्न परिकार तयार गरेका थिए ।

विद्यार्थीलाई व्यावहारिक शिक्षासँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्थानीय स्काउट कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्काउटमार्फत युवा विद्यार्थीको नेतृत्व क्षमता, आत्मनिर्भरता, सिर्जनशीलता तथा व्यावहारिक सीप विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

प्रतियोगितामा करिब ३५० जना स्काउट विद्यार्थीको सहभागिता रहेको थियो । पाककला प्रतियोगिताले विद्यार्थीलाई पुस्तकमा सीमित ज्ञानभन्दा बाहिर गएर आफ्नै हातले काम गर्ने, समूहमा सहकार्य गर्ने तथा समय व्यवस्थापन गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।

कार्यक्रमको अध्यक्षता शिक्षा सदन माविका प्रधानाध्यापक अशोक पोखरेलले गरेका थिए भने धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा स्थानीय स्काउट संरक्षक अइन्द्रविक्रम बेघा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, राष्ट्रिय परिषद् सदस्य निर्मला अधिकारी, पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, शिक्षा महाशाखा प्रमुख तथा स्थानीय स्काउट सदस्य सचिव ध्रुवराज खड्कालगायतको उपस्थिति थियो । प्रतियोगिताको निर्णायक मण्डलमा कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त सुशील राई, सदस्य वृद्धि आयुक्त सन्तोष घिमिरे र स्थानीय परिषद् सदस्य सूर्यकुमार सुनुवार रहेका थिए ।