विजयपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ ।

मंगलबार पार्टी पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेको देउवा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो । सो निवेदन उपर भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ । कांग्रेसको निर्वाचन समितिले १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ । उक्त निर्णय रोक्न रिट निवेदन पेश गरिएको हो । कांग्रेसको अधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न निस्सा (अनुमति) दिइएको छ । सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको छ । रासस