भोजपुर । कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको महत्त्वपूर्ण हिस्सा थियो । पहाडी जनजीवन र संस्कृतिसँग गहिरो सम्बन्ध रहेको कोदो खेती अहिले भने क्रमशः घट्दै गएको छ ।

कोदो खेतीका लागि उपयुक्त जमिन र हावापानी भए पनि पछिल्लो समय भोजपुरमा कोदो लगाउने किसानको सङ्ख्या घटिरहेको छ । कम आम्दानी, बढी मेहनत र बजारको निश्चितता नहुँदा किसान अन्य बालीतर्फ आकर्षित हुन थालेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–६, कोटका किसान रामकुमार राईका अनुसार अहिले कोदो खेती घरायसी प्रयोजनमा मात्र सीमित हुँदै गएको छ । उनले भने, “कोदो खेती गरेर जीवन धान्न सक्ने अवस्था छैन । गाउँघरमा पनि व्यावसायिक रूपमा कोदो खेती गर्ने चलन हराउँदै गएको छ । अहिले घरमा खानका लागि मात्र कोदो लगाउने गरिएको छ ।”

उनका अनुसार अन्य बालीको तुलनामा कोदो खेती गर्न बढी मेहनत गर्नुपर्छ । तर त्यसअनुसार आम्दानी नहुने भएकाले किसानले विस्तारै कोदो खेती छाड्दै गएका छन् ।

भोजपुर नगरपालिका–५, बोखिमका किसान रुपनारायण फुयाँल पनि पहिलेको तुलनामा कोदो खेती निकै घटेको बताउँछन् । उनका अनुसार पहिले धेरै किसानले कोदो लगाउने गरे पनि अहिले उत्पादन र कोदो खाने चलन दुवै घट्दै गएको छ ।

स्थानीय बजारमा कोदो प्रति किलो १४० देखि १७० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । मूल्य राम्रो भए पनि उत्पादन र बजारको निश्चितता नहुँदा किसानले कोदोलाई व्यावसायिक बालीका रूपमा लिन सकेका छैनन् । किसानका अनुसार पछिल्लो समय कोदोको प्रयोग परम्परागत खानाभन्दा जाँडरक्सी बनाउन बढी हुने गरेको छ ।

कोदो पौष्टिक अन्नका रूपमा परिचित छ । यसबाट ढिँडो, रोटी, सातु, लिटोलगायत विभिन्न परिकार बनाउन सकिन्छ । विशेषगरी चिसो मौसममा कोदोको खोले स्वास्थ्यका लागि उपयोगी मानिन्छ । तर आधुनिक खानपानको बढ्दो प्रभावसँगै कोदो खाने चलन पनि घट्दै गएको छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा करिब पाँच हजार हेक्टर जमिन कोदो खेतीका लागि उपयुक्त छ । तर पछिल्लो समय यसको खेती क्रमशः घटिरहेको छ । किसान नगदेबाली, तरकारी तथा फलफूल खेतीतर्फ आकर्षित भएपछि कोदोजस्ता परम्परागत बाली ओझेलमा पर्दै गएको केन्द्रले जनाएको छ ।

कोदो स्थानीय किसानका लागि अन्न मात्र नभई पहाडी जीवनशैली, परम्परा र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण बाली हो । त्यसैले कोदो खेती संरक्षणका लागि उत्पादन बढाउनेसँगै यसको बजार सुनिश्चित गर्न आवश्यक