काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सरकार र सबै राजनीतिक दल एकढिक्का भएर राहत तथा उद्धारमा परिचालित हुन आह्वान गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दलका राहत तथा उद्धारमा दक्ष, जानकार र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन गर्न आग्रह गरे। उनले राहत र उद्धारका लागि राजनीतिक दलहरूले एकीकृत खाका बनाएर काम गर्नुपर्ने तथा कुनै दलको झण्डाभन्दा देशको झण्डामुनि एकजुट हुनुपर्ने बताए।
“यो विपत्तिमा पक्ष–प्रतिपक्ष होइन, एकैसाथ सरकारको साथमा छौँ भन्ने जुन उच्च राजनीतिक संस्कारको प्रदर्शन भयो, म विपक्षीलाई धन्यवाद दिन चाहन्छु,” उनले भने। उनले बिहानैदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी संयन्त्रका अधिकारीसँग निरन्तर सूचना आदानप्रदान र विपद् व्यवस्थापनका रणनीतिबारे आफूले छलफल गरिरहेको जानकारी दिए। सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य नागरिकको जीवन रक्षामा लगाउने विश्वास व्यक्त गर्दै उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा, जनशक्ति तथा सम्भव भएसम्म सबै स्रोतसाधन परिचालन गर्न आग्रह गरे।
“नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्वपूर्ण कुरा हो,” रास्वपा सभापति लामिछानेले भने, “सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउनेछ भन्ने विश्वास छ।” उनले बाढी प्रभावित रसुवा र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई थप क्षति हुन नदिन सचेत रहन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गरे।
चितवन, नवलपरासीलगायत नदी तटीय क्षेत्रका बासिन्दालाई पनि सावधानी अपनाउन उनले आग्रह गरे। साथै अपाङ्गता भएका व्यक्ति, महिला, वृद्धवृद्धा तथा बालबालिकालाई उद्धार तथा राहतमा प्राथमिकता दिनुपर्नेमा सभापति लामिछानेले जोड दिए।
रास्वपाले समन्वयको अग्रसरता लिने
सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने प्रतिबद्धता आएको उल्लेख गर्दै सभापति लामिछानेले दलहरूसँग रहेका राहत तथा उद्धार संयन्त्रलाई सरकारसँग समन्वय गरी परिचालन गर्न आग्रह गरे। विसं २०७२ को भूकम्पमा राजनीतिक दलहरूले देखाएको उच्च राजनीतिक संस्कार स्मरण गर्दै उनले विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर नागरिक सेवामा केन्द्रित हुनुपर्ने बताए।
संसद्को सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा रास्वपाले विपद् व्यवस्थापनमा बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै सभापति लामिछानेले आवश्यक समन्वयका लागि पार्टीले अग्रसरता लिने जानकारी दिए। आवश्यक परे सबै दलको बैठकमार्फत समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।
प्रभावित नागरिकप्रति दुःख व्यक्त
सभापति लामिछानेले बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकसँग सिङ्गो राष्ट्र र सरकार साथमा रहेको बताए। उनले यो कठिन परिस्थितिलाई संयमतापूर्वक सामना गर्नुपर्ने उल्लेख गर्दै प्रभावित क्षेत्रमा मानवीय सहायता र उद्धारलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
उनले सभाको रोष्ट्रमबाट विपद्मा प्रभावित नागरिकलाई सतर्क र धैर्य रहन, सरकारलाई सम्पूर्ण स्रोतसाधन परिचालन गर्न, राजनीतिक दललाई एकढिक्का भएर उद्धारमा जुट्न तथा अन्तरराष्ट्रिय समुदायलाई नेपाल सुरक्षित रहेकाले विश्वास गर्न आग्रह गरे। रासस