काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, गोखरामा २०, चितवनमा १०८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ । प्राधिकरणका अनुसार हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ जना उद्धार, खोज र राहतमा परिचालन गरिएको छ । आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवाका १६१ र नुवाकोटका १ जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कमा छैनन् । रासस