विजयपुर । रसुवाको बाढीले बगाएर चितवनसम्म ल्याएको शवबाट सुनका गरगहना निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरीले बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरेको जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१, लीलाचोक बस्ने २५ वर्षीय मदन गुरुङ रहेका छन् । यस्तै, सुनसरीको इनरुवा नगरपालिका–५, चाँदबेला घर भई भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कस्थित सुपारी टोल बस्ने ३८ वर्षीय उमेश चौधरी रहेका छन् । प्रहरीका अनुसार उनीहरूले बाढीले बगाएर ल्याएको शवको कानबाट सुनका गरगहना तानेर निकालेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।