विराटनगर । कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमार्फत तत्काल तीन करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत प्रदान गर्न सङ्घीय सरकारसँग समन्वय गर्नुका साथै कोशी प्रदेश सरकारले अन्तरसमन्वय गर्न तयार रहेको पनि उनले बताए । मनसुन अझै सक्रिय रहेकाले कोशी प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समितिहरू सजग र सचेत रहन पनि निर्देशन दिने बैठकले निर्णय गरेको छ ।