विजयपुर । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुगेका १२२ जना सम्पर्कविहीन बनेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरका अनुसार उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नरहेका हुन् । बाढी आउँदा रोजगारी, व्यापार, पर्यटन, धार्मिक यात्रा तथा अन्य कामका सिलसिलामा व्यक्तिहरू प्रभावित क्षेत्रमा पुगेका थिए । 

झापाका ८, इलामका ९, ताप्लेजुङका ६, मोरङका १४, सुनसरीका १७, धनकुटाका १, संखुवासभाका ३, भोजपुरका १, उदयपुरका १३, ओखलढुंगाका १२, खोटाङका ८ र सोलुखुम्बुका ३८ जना सम्पर्कविहीन छन् । पाँचथर र तेह्रथुमबाट भने हालसम्म यस्तो विवरण प्राप्त भएको छैन ।

प्रहरीको विवरणअनुसार सम्पर्कविहीन भनिएका १३० व्यक्तिमध्ये ८ जना भने पछि परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् । इलामका १, सुनसरीका २, उदयपुरका ३, ओखलढुंगाका १ र सोलुखुम्बुका १ जना सम्पर्कमा आएको विवरण छ ।

झापाबाट ८ जना

झापाबाट दिपक खरेल (४२), घनश्याम भट्टराई (३८), विनोद राई (३१), भक्तबहादुर राई (४०), चुड्का टुडु (५२), देवलाल मुर्मु सतार (२६), केवलनाथ आचार्य (२८) र नविन श्रेष्ठ (२८) सम्पर्कविहीन भएको विवरण छ।

इलामका ९ जनाको विवरण

इलामबाट नरेन्द्रप्रसाद दाहाल (७३), लोकबहादुर थापा (३५), बेनु थेगिम (४०), दिवानन्द सुवेदी/दिपक सुवेदी (३५), लक्ष्मण सिंह ऐर, बुद्धिसागर न्यौपाने (५७), खिनमाया न्यौपाने (५२), विनोद राई (३०) र विजय राई (२८) सम्पर्कविहीन भएको विवरण छ।

ताप्लेजुङबाट ६ जना

ताप्लेजुङबाट भिष्म चापागाईं (३३), पासाङ शेर्पा (२३), ङिमा साँगे शेर्पा (२४), पासाङ तेन्जी शेर्पा (२१) लगायतको विवरण छ। भिष्म चापागाईं नुवाकोटको त्रिशूली–३ बी हाइड्रोपावरमा कार्यरत थिए।

पासाङ शेर्पा, ङिमा साँगे शेर्पा र पासाङ तेन्जी शेर्पा रसुवाका हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत रहेको जनाइएको छ। ताप्लेजुङबाट आएको विवरणमा दुर्गा भट्टराई (४०) पनि छन्। उनी ट्राभल एन्ड टुर्समार्फत मानसरोवर तीर्थयात्रीलाई लिएर गाइडका रूपमा गएको उल्लेख छ।

मोरङका १४ जना सम्पर्कविहीन

मोरङबाट १४ जना सम्पर्कविहीन भएको प्रहरी विवरण छ। उनीहरूमा हाइड्रोपावर कर्मचारीदेखि होटल व्यवसायी, चालक, प्राविधिक तथा भन्सार क्षेत्रमा कामका लागि पुगेका व्यक्तिसम्म छन्। शिवशंकर गुप्ता (६०) त्रिशूली क्षेत्रमा ठेलामा कपडा बेच्दै आएका थिए। रामभक्त नेवार (३६) डिब्बावाला ट्रक चालक हुन्। सुरजकुमार मण्डल (३५) रसुवाको दोसाङ हाइड्रोपावरमा इन्जिनियरका रूपमा कार्यरत थिए।

मेघा लिम्बु (३०) रसुवागढी नाकाबाट करिब एक किलोमिटर दक्षिण पाख्रिन होटल सञ्चालन गरी बसेका थिए। सोना लिम्बु (२८), देवीमाया तामाङ (६०) र पासाङ तामाङ (४) को विवरण पनि प्राप्त भएको छ।

त्यस्तै, पूजा आचार्य नेपाल (२५) रसुवा धुन्चेमा ल्याब टेक्निसियनका रूपमा कार्यरत रहेको र उनका छोरा सिवान्स आचार्य (३) को पनि सम्पर्क हुन नसकेको विवरण छ।

रिचा निरौला (२४) र सचिन गौतम (२५) दोसाङ हाइड्रोपावरमा इन्जिनियरका रूपमा कार्यरत रहेको जनाइएको छ। दुर्गाप्रसाद पोखरेल टिमुरे अध्यागमन कार्यालयमा रहेको, सूर्यबहादुर कार्की (४५) अमस्ता हाइड्रोपावरमा कुकका रूपमा काम गर्ने तथा भोजराज अधिकारी (४३) सामान लिन रसुवा भन्सार गएको अवस्थामा सम्पर्कविहीन भएको उल्लेख छ।

सुनसरीबाट १७ जना

सुनसरीबाट १७ जना सम्पर्कविहीन भएको विवरण छ। उनीहरूमा हाइड्रोपावर कर्मचारी, चालक, पर्यटक तथा अन्य कामका लागि रसुवा पुगेका व्यक्ति छन्।

सचिन गौतम (२६) अपर त्रिशूली हाइड्रोपावर–२१६ मा, मुकेश नेपाल (३६) त्रिशूली हाइड्रोपावर बी–३ मा र धिरज साह (३४) अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत रहेको उल्लेख छ।

श्यामनारायण साह (३६) पनि अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए। छविकेशर काफ्ले (४२) गोसाइँकुण्ड गएका थिए भने मणिकरण राई (३५) रसुवा भन्सार कार्यालय निर्माणमा संलग्न थिए।

नेपाली सेनाका प्रभाकर दंगाल (२७), लेस नायक, त्रिशूली हाइड्रोपावर–३ बी क्षेत्रमा रहेको उल्लेख छ। पुष्पराज भट्टराई (४६) त्रिशूली–३ बीको प्रशासन शाखामा कार्यरत थिए।

दिनेशकुमार चौधरी (४८) अपर त्रिशूली–२१६, भुवनबहादुर श्रेष्ठ (४५) गोसाइँकुण्ड–टिमुरे क्षेत्रमा ट्रक चालक र रुबिना कुमारी थामी (२२) रसुवाको कैलाश होटलमा रहेको विवरण छ।

अम्बरकाजी खड्का (६२) र मनकुमारी खड्का (६१) रसुवाको चाइना बोर्ड क्षेत्रमा घुम्न गएको तथा जीवन सिंह (१९) रसुवाको हाइड्रोपावरमा काम गर्ने गरेको उल्लेख छ।

यस जिल्लाबाट नवराज ढकाल (१९) र देवानन्द यादव भने ११ गते परिवारको सम्पर्कमा आएको जानकारी प्रहरीलाई प्राप्त भएको छ।

उदयपुरका १३ जना

उदयपुरबाट १३ जना सम्पर्कविहीन भएको विवरण छ। हाइड्रोपावरमा काम गर्ने, नेपाली सेनामा कार्यरत तथा रसुवामा व्यवसाय र चालकको काम गर्ने व्यक्तिहरू यस सूचीमा छन्।

भेषराज माझी (१८), मिलन माझी (२०) र चन्द्रबहादुर माझी (३२) रसुवा हाइड्रोपावरमा लेबरको काम गर्ने थिए। बुद्धिमान नेपाली (२०) टिमुरे बजारको ग्यारेजमा काम गर्ने तथा देबेन्द्र घिमिरे (४२) माथिल्लो त्रिशूली हाइड्रोपावर सेक्टर–३ बीमा कार्यरत थिए।

सुमन समीर राई (२४) र बालकुमार राई (२७) नेपाली सेनाको ठिमुरे पोस्टमा कार्यरत रहेको उल्लेख छ। धुर्व बस्नेत (४०) पनि माथिल्लो त्रिशूली हाइड्रोपावर सेक्टर–३ बीमा कार्यरत थिए।

अरुण मगर (३१) टिमुरे बजारमा काम गर्ने र करण विक (२६) पनि टिमुरे बजारमा काम गर्ने गरेको विवरण छ।

गाडी चालकका रूपमा कार्यरत सुमन तामाङ (२७) र जीवन तामाङ (२९) भने ११ गते सकुशल रहेको जानकारी आएको छ। गोसाइँकुण्ड घुम्न गएका भोलाराज कार्की (२५) पनि पछि सम्पर्कमा आएको विवरण छ।

ओखलढुंगाबाट १२ जना

ओखलढुंगाबाट १२ जना सम्पर्कविहीन भएको विवरण छ। उनीहरूमध्ये ट्रेकिङ गाइड, होटल व्यवसायी, पर्यटक बस चालक, ट्रक चालक तथा बैंक कर्मचारीसमेत छन्।

अबिस्वर सुनुवार (२३) लाङटाङ राष्ट्रिय निकुञ्ज आसपास मेसिन चलाउने काममा रहेका थिए र उनी ११ गते परिवारको सम्पर्कमा आएको जनाइएको छ।

गेली शेर्पा (३२), सोनाम टासी शेर्पा (५२), संगम श्रेष्ठ (४०) र देबराज सुनुवार (३६) ट्रेकिङ गाइडका रूपमा काम गर्ने गरेको विवरण छ। छोटी शेर्पा टिमुरेको गट्टे खोलामा होटल सञ्चालन गरेर बसेका थिए।

मिलन बेडारी (४२) र रमेश खत्री (४८) पर्यटक बस चालक रहेको तथा काठमाडौँबाट मुस्ताङ जाँदै गरेको विवरण छ। पेम्जाङबु शेर्पा (३०) काठमाडौँको कैलाश ट्रेकिङमार्फत रसुवा गएको उल्लेख छ।

मेचनकुमार मगर (३३) पर्यटक गाडी चालक र खेमबहादुर राउत (२६) कन्टेनर ट्रक लिएर रसुवा भन्सार गएको अवस्थामा सम्पर्कविहीन छन्। सुभद्रा न्यौपाने (२८) टिमुरे सानिमा बैंकमा कार्यरत रहेको विवरण छ।

खोटाङका ८ जना

खोटाङबाट ८ जना सम्पर्कविहीन छन्। तारानाथ थापा (६०) नुवाकोटको होटलमा सुरक्षा गार्डका रूपमा काम गर्ने, सुरजबहादुर दर्जी (२४) र सुरजबहादुर परियार (२४) रसुवाको सुरुङमार्गमा काम गर्ने गरेको विवरण छ।

पवन खत्री दाहाल (३२) रसुवा मैलुङ आर्मी पोस्टमा कार्यरत थिए। बालकुमार तामाङ (४१) रसुवामा पर्यटक गाइडको काम गर्ने तथा कबिन राई (४३) गाडी चालक रहेको उल्लेख छ।

युवराज राई (५३) र यसबहादुर राई (३३) ट्रेकिङ गाइडका रूपमा काम गर्ने गरेको विवरणमा उल्लेख छ।

सोलुखुम्बुबाट सबैभन्दा धेरै ३८ जना

प्रहरीको जिल्लागत तथ्याङ्कमा सबैभन्दा बढी सोलुखुम्बुका ३८ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये ठूलो संख्या ट्रेकिङ, पर्यटन तथा तिब्बत यात्रामा रहेका व्यक्तिहरूको छ।

धनबहादुर तामाङ (४६), सुरेश मगर (३५), अनिस मगर (३१), पासाङ काजी तामाङ (४५) र दोर्जी तामाङ (४३) विभिन्न ट्राभल तथा ट्रेकिङ कम्पनीमार्फत काठमाडौँदेखि तिब्बततर्फ गएको विवरण छ।

त्यस्तै, अम्बिर नाछिरीङ (२५), प्रेमकुमार राई (४२), अमित भन्ने कर्ण नाछिरीङ (३२), सुबोधन राई (४५) र निरकुमार राई (४७) पनि ट्रेकिङका लागि तिब्बततर्फ गएको जनाइएको छ। ग्याल्जेन शेर्पा (४४) र दागुम्भु शेर्पा (३३) कैलाश जाने कम्पनीमार्फत तिब्बततर्फ गएको उल्लेख छ।

सोलुखुम्बुको विवरणमा दोर्जी शेर्पा भने ११ गते बिहान ९:३० बजे तिब्बत पुगेको सम्पर्कमा आएको जनाइएको छ। यसैगरी, सोलुखुम्बुबाट दिलबहादुर भुजेल, ङिमा शेर्पा, साङ्गे शेर्पा, सोना शेर्पा, बाबुराम खत्री, भुपाल बुर्ज मगर, रोजीत तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सगर तामाङ, रिन्जी तामाङ, नुरू जाङ्बु शेर्पा, तुलाबहादुर मगर, हर्कबहादुर मगर, प्रकाश राना मगर, ओमनाथ राई, अम्बिर नछिरिङ, रामजी तामाङ, आङ फुर्बा शेर्पा, पासाङ दावा शेर्पा, सुशान्त कुलुङ, डम्बर राई, पान्देउ राई, सेनाका प्युठ विनोद बस्नेत र विकास श्रेष्ठ लगायतको विवरण पनि प्रहरीलाई प्राप्त भएको छ।

तीमध्ये केही तिब्बतबाट नेपाल फर्किँदै गरेको अवस्थामा रहेको तथा केही नेपाली सेनाको मैलुङ हाइड्रोपावर सुरक्षा पोस्टमा कार्यरत रहेको विवरण छ।

धनकुटा, संखुवासभा र भोजपुरबाट पनि सम्पर्कविहीन

धनकुटाबाट विपन घिसिङ (२७) को विवरण प्राप्त भएको छ। उनी काठमाडौँको कपनमा बस्दै आएको र भदौ ९ गते स्कार्पियो गाडी लिएर रसुवागढीतर्फ गएको उल्लेख छ।

संखुवासभाबाट ईश्वरीप्रसाद दाहाल (४०), राधा थापा मगर (२९) र आरुष ठाडा मगर (५) सम्पर्कविहीन छन्। ईश्वरीप्रसाद रसुवाको हाइड्रोपावरमा कार्यरत थिए भने राधा नुवाकोटको वेत्रावती बजारमा कोठा भाडामा लिएर बस्दै आएको विवरण छ।

भोजपुरबाट गोविन्द राई (५९) रसुवा दोसाङ हाइड्रोपावर कम्पनीमा कार्यरत रहेको अवस्थामा सम्पर्कविहीन भएको उल्लेख छ।

प्रहरीले समेत प्रारम्भिक सूचीमा नाम परेका सबै व्यक्ति बेपत्ता नै रहेको निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ। खोजी तथा सम्पर्क स्थापित गर्ने क्रम जारी रहेकाले थप व्यक्ति सम्पर्कमा आउन सक्ने र तथ्याङ्क समेत परिवर्तन हुन सक्नेछ ।