विजयपुर । चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिकै बनेको ठूलो प्राकृतिक ताल फुटेको जानकारी आएपश्चात त्रिशूली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएपछि रसुवा प्रशासनले त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले थुनिएको ताल फुटेको जानकारी गराएको हो। सूचना प्राप्त भएलगत्तै नदी किनारका बस्ती तथा स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन प्रशासनले सर्कुलर जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी परियारले ताल फुटेको पुष्टि गर्दै नदी तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरे। नेपाल प्रहरीले पनि सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको छ । छोचेन खोला र पुरेपू त्साङ्पो नदी चीनको तिब्बत क्षेत्रबाट बग्दै नेपालतर्फ आउने नदी प्रणालीसँग जोडिएका छन् । यी नदीहरू नेपालतर्फ भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिन्छन्।