विजयपुर । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा पुनः ठूलो पानीको बहाव आउन सक्ने जोखिम देखिएपछि नेपाल प्रहरीले अलर्ट नोटिस जारी गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी तथा इन्द्रावती नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा यसअघि ठूलो बाढी आएको क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको उल्लेख गरिएको छ भने थप बाढी आउन सक्ने जोखिम औंल्याइएको छ । भोटेकोशी तथा इन्द्रावती नदी किनारका तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो ।
नेपाल प्रहरीले समेत उच्च सतर्कता अपनाउन अपिल गरेको छ । तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गर्न सक्ने सूचनापछि उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा नदी आसपासका सर्वसाधारणलाई तत्काल सुरक्षित रहन आग्रह गरेको छ ।
भोटेकोशी, इन्द्रावती तथा त्रिशूली नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान, रातको समयमा विशेष सावधानी अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।