विजयपुर । धरान उपमहानगरपालिकाले प्रधानमन्त्री विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

साथै, उपमहानगरपालिकाका कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको रकम विपद् राहतका लागि सहयोग गर्ने भएका छन् । शुक्रबार कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाको अध्यक्षतामा बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकले विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ । उपमहानगरपालिकाले संस्थागत सहयोगसँगै कर्मचारीबाट समेत रकम संकलन गरी विपद् प्रभावितहरूका लागि सहयोग गर्ने जनाएको छ ।

कार्यवाहक नगरप्रमुख बेघाको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल गरेको थियो ।