विजयपुर । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि धरानका दुई संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १३ लाख रुपैयाँ सहयोग गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले मितेरी डेभलपमेन्ट बैंक लिमिटेड धरानका सञ्चालक तथा कर्मचारीहरूले १० लाख रुपैयाँ सहयोग गरेका हुन्। बैंकका अध्यक्ष किसन मास्केका अनुसार रकम जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। त्यसैगरी, प्रिति भल्भ एण्ड फिटिङ्ग इन्डष्ट्रिज प्रा.लि. का सञ्चालक अशोककुमार अग्रवालले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ लाख रुपैयाँ सहयोग गरेका छन्। दुवै संस्थाले जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम उपलब्ध गराएका हुन्।