विजयपुर । भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर समितिले १ लाख १४ हजार ४ सय ९० रुपैयाँ सहयोग गरेको छ ।
बिहीबार नेकपा धरानले बाढीपीडितका लागि राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो । पार्टीका नेता तथा कार्यकर्ताले बजारका व्यापारी, समाजसेवी तथा सर्वसाधारण नागरिकबाट स्वेच्छिक रूपमा रकम संकलन गरी कोषमा पठाएका हुन् । नेकपा धरान उपमहानगर संयोजक सीपी बजगाईंका अनुसार संकलित रकम भानुचोकमा पत्रकार तथा सर्वसाधारणको उपस्थितिमा पारदर्शी रूपमा गणना गरिएको थियो । राहत अभियानमा नागरिकहरूले आफ्नो क्षमताअनुसार ५० रुपैयाँ, १०० रुपैयाँदेखि अन्य रकम समेत स्वेच्छाले सहयोग गरेका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्गो (मुकेश)ले संकलित राहत रकम वास्तविक बाढीपीडित परिवारसम्म यथाशीघ्र पुर्याउन सरकारसँग आग्रह गरे ।