काठमाडौँ । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो। बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन्। फलस्वरूप मानिसहरू समयमै सही सूचनाबाट वञ्चित भए।

मानिसहरूले जे–जति सूचना पाए, त्यसले आम मानिसमा चिन्ता फैलायो। सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै आएका बाढीका तस्बिर र भिडियोले तनाव झन् बढायो। बाढीका कारण छोटो समयमा लाखौँ मानिस प्रभावित भएपछि सरकारले खोज तथा उद्धारका लागि तत्काल काम सुरु गर्‍यो। सोही समयमा सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार पुनःस्थापनाका लागि काम सुरु गर्‍यो।

मन्त्रालयमा समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत किरन घिमिरेका अनुसार तत्कालै नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एनसेल र सशस्त्र प्रहरीको समन्वयमा काम सुरु गरिएको थियो।

“हामीले बाढी आएको दिन दिउँसो २ बजेदेखि नै सञ्चार पुनःस्थापनाका लागि काम सुरु गरेका थियौँ। सोही दिन प्रभावित क्षेत्रमै पुगेर अनुगमन गरी कसरी काम गर्ने भन्ने योजना बनाएका थियौँ,” अनुगमन अधिकृत घिमिरेले भने।

रसुवा, नुवाकोट र धादिङमा सञ्चालनमा रहेका नेपाल टेलिकम (एनटिसी) का १२० र एनसेलका ७८ वटा बीटीएस टावरमध्ये बाढीका कारण एनटिसीका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा टावर सञ्चालनका लागि आवश्यक ऊर्जाको अभाव भएको थियो।

सरकारले त्यसपछि हेलिकप्टर र सडकमार्गबाट इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावर सञ्चालन गर्ने प्रयास गरेको थियो। सम्बन्धित सेवाप्रदायकका अनुसार हालसम्म एनटिसी र एनसेलका अधिकांश प्रभावित बीटीएस टावर पुनः सञ्चालनमा ल्याउने काम भइरहेको छ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमका कुल १२० वटा टावर थिए। जसमध्ये धेरै टावर पुनः सञ्चालनमा ल्याइएका छन् भने केही टावर बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

उनका अनुसार बाँकी टावरहरू चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति र इन्धन व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। बाढीका कारण अधिकांश साइटमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि सुरुमा करिब आठ घण्टासम्म ब्याट्री ब्याकअपबाट सेवा सञ्चालन गरिएको थियो। त्यसपछि हेलिकप्टरमार्फत जेनेरेटर र इन्धन प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो।

सडकमार्गबाट समेत त्रिशूलीसम्म जेनेरेटर र इन्धन पुर्‍याइएको थियो। प्रभावित क्षेत्रमा काम गर्ने कर्मचारीलाई आवतजावत गर्न सहज हुने अवस्था र आवश्यक इन्धन तथा अन्य सहयोग उपलब्ध भएमा बाँकी साइटहरू पनि चाँडै सञ्चालनमा ल्याइने नेपाल टेलिकमले जनाएको छ।

“बाढीका कारण गल्छीदेखि नुवाकोटसम्मको फाइबर लिंक पूर्ण रूपमा अवरुद्ध भएको थियो। फाइबर क्षतिग्रस्त भएपछि ककनीतर्फको आरएएस फाइबरलाई ब्याकअपका रूपमा प्रयोग गरिएको र माइक्रोवेभ लिंक प्रयोग गरेर प्रभावित क्षेत्रका साइटहरू सञ्चालनमा ल्याइएको हो,” पहाडीले भनिन्।

उनका अनुसार टेलिकमले प्रभावित क्षेत्रका आफ्ना एक लाख ६० हजार ग्राहकलाई उपलब्ध गराएको निःशुल्क डाटा, एसएमएस र भ्वाइस सेवालाई पाँच दिनसम्म विस्तार गरेको छ।

एनसेलका नेटवर्क प्रमुख लीना केशरी कंशाकारका अनुसार रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण एनसेलका दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको थियो। बाढीका कारण रसुवादेखि करिब ७० देखि ८० किलोमिटर क्षेत्रका विभिन्न स्थानमा फाइबर काटिनुका साथै बगाएपछि एनसेलका २७ वटा बीटीएस साइट प्रभावित भएका थिए।

उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको सहयोगमा प्राविधिक टोली परिचालन गरी प्रभावित क्षेत्रमा सेवा पुनःस्थापनाको काम सुरु गरिएको थियो।

बाढीपछि अवरुद्ध भएका २७ वटा बीटीएस टावरमध्ये १८ वटा सञ्चालनमा ल्याइसकिएको र नौ वटा मात्रै सञ्चालनमा आउन बाँकी रहेको एनसेलले जनाएको छ। ती टावर पनि चाँडै सञ्चालनमा आउने कम्पनीको भनाइ छ।

फाइबरमार्फत सेवा पुनःस्थापना गर्न सम्भव नभएका स्थानमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरी टावर सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। साथै विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा जेनेरेटर सञ्चालनका लागि आवश्यक इन्धनसमेत हेलिकप्टरमार्फत पुर्‍याइएको कम्पनीले जनाएको छ।

एनसेलले बाढी प्रभावित मानिसहरूका लागि थप सात दिन निःशुल्क सेवा दिने घोषणा पनि गरेको छ।

“हाम्रो यो योगदानले प्रभावित समुदायलाई विपद्को समयमा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौँ। यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।

यसअघि एनसेलले तीन दिनका लागि निःशुल्क भ्वाइस, एसएमएस र डेटा सेवा घोषणा गरेको थियो।

एनसेलले नेटवर्क पुनःस्थापनाका क्रममा सहयोग प्रदान गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना र हुवावे लगायतका संस्थाले ठूलो सहयोग गरेको जनाएको छ।

प्रविधि सेवा प्रदायक कम्पनी हुवावे नेपालका अनुसार कम्पनीले बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा १० वटा महत्त्वपूर्ण हब साइटसहित कुल ७० वटा साइट पुनः सञ्चालन गरेको जनाएको छ।

यसमध्ये दुई वटा महत्त्वपूर्ण फाइबर लिंक र दुई वटा प्रमुख हब साइटको पुनःस्थापनाले थप २९ वटा साइट पुनः सञ्चालनमा आएको कम्पनीको भनाइ छ। कम्पनीले बाढी प्रभावित क्षेत्रमा सञ्चार पुनःस्थापनाका लागि रेडियो, माइक्रोवेभ र फाइबर कनेक्टिभिटीका साइट तथा ट्रान्समिसन लिंक सुधारमा काम गरेको जनाएको छ। साथै इन्धन, जनशक्ति, उपकरण तथा सामग्री परिचालन लगायतका लजिस्टिक्स र फिल्ड सहयोगलाई तीव्रता दिइएको छ।

दुर्गम तथा बाढी प्रभावित क्षेत्रमा आवश्यक परेको अवस्थामा हेलिकप्टरको सहयोगसमेत लिइएको हुवावे नेपालले जनाएको छ। रासस