विजयपुर । सुनसरीमा प्रहरीले ५७५ किलो गाँजा, ब्राउन सुगर तथा प्रतिबन्धित औषधि बरामद गरेको छ । प्रहरीले छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको चेकजाँच तथा खोजी अभियानका क्रममा चार जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका–३ स्थित श्रीपुर जाने बाटोमा रहेको काँसघारीमा लुकाएर राखिएको अवस्थामा ५७५ किलो गाँजा बरामद गरिएको हो । त्यसैगरी, इनरुवा नगरपालिका–४ स्थित बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कोशी प्रदेश ०२–००५ ह ६९५९ नम्बरको सिटी सफारी जाँच गर्दा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । सिटी सफारीका चालक इटहरी उपमहानगरपालिका–५ का ३४ वर्षीय अरुण नेपाली र सोही स्थानका ३५ वर्षीय सुमन कार्कीको साथबाट ०.८२ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। दुवै जनालाई सिटी सफारीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ । यस्तै, बराहक्षेत्र नगरपालिका–११, मधुवन बजारमा प्र.०१–०२–०५२ प ९४०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बराहक्षेत्र नगरपालिका–१० का १९ वर्षीय दिप कार्की र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १९ वर्षीय कृष्ण आचार्य पक्राउ परेका छन् । प्रहरीका अनुसार कृष्ण आचार्यको साथबाट प्रतिबन्धित औषधि ७ सय ट्याब्लेट बरामद भएको हो। दुवै जनालाई लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।