इलाम । पुवाखोलामा बेलीब्रिज पुल जडान सुरु गरिएको छ । पुल २३० फिट लम्बाइ र १४ फिट चौडाइको छ ।

सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलीब्रिज जडान सुरु गरिएको हो । बेलीब्रिज दुई साताभित्रै सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरिएको सडक डिभिजन कार्यालय, इलामका प्राविधिक अर्जुन घिमिरेले जानकारी दिए । इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने उक्त पुल जडान गर्न भारतबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । 

पुल जडानका लागि सिभिल संरचना गत आर्थिक वर्षमै तयार भइसकेको थियो । भारत सरकारको अनुदान स्वरूप उक्त बेलीब्रिज नेपाललाई प्राप्त भएको हो । बेलीब्रिज जडानको काम सुरु भएसँगै इलामवासी उत्साहित भएका छन् । जडान भइसकेपछि सडक मेची राजमार्गको वैकल्पिक सडक बन्न सक्ने इलाम नगरपालिका–९ का प्रकाश नेपालले बताए । बेलीब्रिज निर्माण सम्पन्नपछि वर्षातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ । 

मेची राजमार्गको वैकल्पिक सडकको रूपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दूरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर निर्माण भइरहेको छ ।


रासस