विजयपुर । सुनसरीको बर्जु गाउँपालिका–४, सितागञ्जबाट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाका आधारमा राति करिब १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको को २ ह ७८२ नम्बरको अटो नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा अटोबाट भन्सार छली गरी ल्याइएको ११० थान कुर्ता–सुरुवाल फेला परेको प्रहरीले जनाएको छ । बरामद लत्ताकपडाको अनुमानित मूल्य १ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

प्रहरीले सामान ओसारपसारमा संलग्न रहेको आरोपमा दुहबी नगरपालिका–१२, सितापुरी निवासी ३५ वर्षीय दीपक पासवानलाई अटो र बरामद सामानसहित नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका पासवान, अटो तथा बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।