विजयपुर । उदयपुर प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले बोलेरोसहित तीन जनालाई पक्राउ गरेको छ ।
आइतबार जंगलका प्रहरीले कटारी नगरपालिका–६, बाँकेटारस्थित शान्तिवन क्षेत्रको जंगलबाट १ हजार १ सय २२ किलोग्राम गाँजा बरामद गरेका हुन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गाँजा बरामद गरेको हो । विभिन्न स्थानमा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाँजा ५२ वटा प्लास्टिकका बोरामा प्याक गरी जंगलभित्र विभिन्न स्थानमा लुकाएर राखिएको थियो । गाँजा बरामद गर्ने क्रममा प्रहरीले बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी पनि फेला पारेको छ ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ताप्ली गाउँपालिका–१ का ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूलाई गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।