विजयपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारजनलाई नेपाल प्रहरीले डीएनए (डिअक्सिराइबोन्युक्लिक एसिड) परीक्षणका लागि आवश्यक नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।
नेपाल प्रहरीले बाढीमा फेला परेका शव वा शरीरका कुनै अंग वा भागको पहिचान गर्न बाबु, आमा, छोरा वा छोरीमध्ये कम्तीमा एक जनाको ताजा रगतको नमुना आवश्यक पर्ने जनाएको छ । नमुना संकलनका लागि परिवारजनले २ प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब, काठमाडौं वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
विदेशमा रहेका बेपत्ता व्यक्तिका आफन्तको हकमा पनि बाबु, आमा, छोरा वा छोरीमध्ये कम्तीमा एक जनाको विदेशमै डीएनए प्रोफाइलिङ गराई त्यसको डीएनए प्रोफाइल सफ्टकपी नेपाल प्रहरीको इमेलमा पठाउन सकिने प्रहरीले जनाएको छ । डीएनए परीक्षणबाट प्राप्त नमुनालाई फेला परेका शव वा शरीरका अंग वा भागसँग तुलना गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ ।