विजयपुर । मोरङको सुन्दरहरैचा नगरपालिका–९, विराटचोकमा पहिलोपटक रोजगारदाता एजेन्सी सञ्चालनमा आएको छ ।
‘एडुस्टाफ सोलुसन’ नामक रोजगारदाता एजेन्सीको भाद्र १४ गते एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा सुन्दरहरैचा तथा इटहरी क्षेत्रका विभिन्न विद्यालयका सञ्चालक, प्रिन्सिपल, उद्योगी तथा व्यवसायीहरूको सहभागिता थियो ।
एडुस्टाफ सोलुसनका सञ्चालक सूर्य दंगाल र रञ्जिता दंगाल रहेका छन् । सञ्चालक सूर्य दंगालका अनुसार संस्थाले पहिलो चरणमा शिक्षा क्षेत्रमा आवश्यक जनशक्ति व्यवस्थापन तथा आपूर्ति गर्नेछ ।
एजेन्सीले सुनसरी र मोरङ जिल्लाका विद्यालय तथा कलेजहरूमा आवश्यक शिक्षक तथा कर्मचारी उपलब्ध गराउने लक्ष्य लिएको छ । जसअन्तर्गत विषय शिक्षक, काउन्सिलर, लेभल इन्चार्ज, कोअर्डिनेटर, प्रिन्सिपल, खेलकुद शिक्षक, विशेष कला प्रशिक्षक लगायत शैक्षिक जनशक्ति उपलब्ध गराइने दंगालले जानकारी दिए ।
त्यस्तै, विद्यालयको आवश्यकता र मागअनुसार बस स्टाफ, सहयोगी कर्मचारी, सुरक्षा गार्ड, लाइब्रेरियन, ल्याब टेक्निसियन, रिसेप्सनिस्ट, होस्टल वार्डन लगायत गैरशैक्षिक जनशक्ति पनि उपलब्ध गराउने संस्थाको योजना छ ।
दंगालका अनुसार दोस्रो चरणमा एजेन्सीको सेवा विस्तार गरी बजारमा आवश्यक विभिन्न व्यापारिक प्रतिष्ठान, होटल तथा पसलहरूमा समेत आवश्यक जनशक्ति आपूर्ति गरिनेछ ।
मोरङको विकासोन्मुख शहर सुन्दरहरैचाको प्रमुख सहरी केन्द्र विराटचोकमा स्थापना भएको संस्थाले स्थानीय स्तरमा रोजगारदाता र रोजगारी खोज्ने जनशक्तिबीचको दूरी घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सुन्दरहरैचा क्षेत्रमा यस प्रकृतिको व्यवसाय सञ्चालन गर्ने पहिलो संस्था एडुस्टाफ सोलुसन रहेको सञ्चालकको दाबी छ । संस्थाले स्थानीय स्तरमा उपलब्ध जनशक्तिलाई अवसरसँग जोड्दै विद्यालय तथा अन्य व्यावसायिक प्रतिष्ठानको जनशक्ति आवश्यकता पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।