विजयपुर । विपद्बाट प्रभावित क्षेत्रमा आवागमन सहज बनाउने उद्देश्यले नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज निर्माणको काम तीव्र पारेको छ ।
नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी काम अघि बढाएको सेनाले जनाएको छ । अवरुद्ध सडक तथा पुलका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउन कठिनाइ भइरहेको छ। त्यसलाई सहज बनाउन नेपाली सेनाले वैकल्पिक आवागमनको व्यवस्था गर्ने गरी पुल निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ। पुल निर्माण सम्पन्न भएपछि प्रभावित क्षेत्रमा मानिसको आवतजावत तथा राहत सामग्री ढुवानीमा थप सहजता आउने अपेक्षा गरिएको छ।
हवाई उद्धारबाट १७ जनाको उद्धार
नेपाली सेनाले हवाई साधन प्रयोग गरी विभिन्न विपद् प्रभावित क्षेत्रबाट १७ जनाको उद्धार गरेको छ। भौगोलिक रूपमा कठिन तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा स्थलमार्गबाट तत्काल उद्धार गर्न कठिनाइ भएपछि नेपाली सेनाले हवाई माध्यमबाट समेत खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।
त्रिशूली–३ ‘ए’ को सुरुङमा संयुक्त उद्धार टोली परिचालन
जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्यलाई पनि नेपाली सेनाले निरन्तरता दिएको छ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहेकाले उपलब्ध उपकरण तथा प्राविधिक जनशक्तिको प्रयोग गर्दै टोलीले थप खोज तथा उद्धार कार्य अघि बढाइरहेको छ।
त्रिशूली–३ ‘बी’ मा बोबक्याट र जेनेरेटर प्रयोग
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले सुरुङभित्र खोजी गरिरहेको छ। टोलीले सुरुङभित्र जम्मा भएको लेदो तथा अन्य अवरोध हटाउन बोबक्याट र जेनेरेटर प्रयोग गरिरहेको छ। कठिन परिस्थितिका बाबजुद सुरुङमा प्रवेश गरी सम्भावित रूपमा फसेकाहरूको अवस्थाबारे जानकारी लिन खोजी अभियानलाई निरन्तरता दिइएको छ।
चिलिमे हाइड्रोमा १०५ मिटरसम्म पुगेर खोजी
चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। टोलीले मिनी एक्साभेटर र मड पम्पको सहायताले सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम गरिरहेको छ। लेदो हटाउँदै अघि बढेको टोली सुरुङको १०५ मिटर भित्री भागसम्म पुग्न सफल भएको छ।
माथिल्लो त्रिशूली–१ को हाकु सुरुङमा २५० मिटरसम्म खोजी
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुस्थित सुरुङमा पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाली सेनाका २० जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले कम्प्रेसर तथा अन्य आवश्यक उपकरण प्रयोग गरी सुरुङभित्र २५० मिटरसम्म पुगेर खोजी गरिरहेको छ।