विराटनगर । विराटनगरको ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्रा शनिबार अपराह्न ३ : ३० बजे सुरु भएको छ। विराटनगर–१ स्थित तीनपैनी चोकमा रहेको राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजापश्चात् रथ नगर परिक्रमाका लागि निस्किएको हो।
दक्षिण एसियाकै दोस्रो ठूलो मानिने यस रथयात्रामा यस वर्ष नेपालका विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत गरी करिब ५ लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ। ठूलो संख्यामा श्रद्धालु सहभागी हुने भएकाले व्यवस्थापनलाई चुस्त बनाउन आयोजक समिति, स्वयंसेवक र सुरक्षा निकायले विशेष योजनाका साथ काम गरिरहेका छन्।
यस वर्षको रथयात्रामा संकलन हुने भेटीलाई परोपकारी कार्यमा लगाउने निर्णय गरिएको छ। रथयात्राका क्रममा संकलन हुने सम्पूर्ण भेटी भोटेकोशी बाढीपीडितको राहतका लागि प्रदान गरिने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ। नगर परिक्रमाका क्रममा रथसँगै लगिने तीनवटा दानपेटिकामा संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत बाढीपीडितसम्म पुर्याइनेछ।
पछिल्ला वर्षहरूमा धार्मिक पर्वहरूमा चर्को आवाजमा बज्ने डिजे साउन्डले पर्वको धार्मिक र आध्यात्मिक गरिमा घटाएको भन्दै यसपटक त्यसलाई पूर्णतः प्रतिबन्ध लगाइएको छ। ‘धार्मिक पर्वको मौलिकता र आध्यात्मिक वातावरण कायम राख्न हामीले डिजेको सट्टा भजन–कीर्तन र परम्परागत झाँकीलाई प्राथमिकता दिएका छौँ,’ समितिका अध्यक्ष कैलाश रेग्मीले भने।
रथमा जडान गरिएका दुईवटा हर्न माइकबाट मात्र भगवानका भजन बजाइनेछ भने विभिन्न स्थानमा स्थानीय भजन मण्डलीले आफ्नो प्रस्तुति दिइरहेका छन्।
९५ वर्षको इतिहास
विराटनगरमा रथयात्राको इतिहास वि.सं. १९८८ देखि सुरु भएको हो। मन्दिर स्थापनापछि सुरुमा ुखट यात्राु गरिन्थ्यो। वि.सं. २०२५ देखि भने यसलाई भव्य रथयात्राका रूपमा मनाउन थालिएको हो। खट यात्राको हिसाबले यो ९५औँ वर्ष भए पनि रथयात्राका रूपमा भने यो ५९औँ संस्करण हो।
मन्दिर परिसरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अघि बढ्नेछ। त्यहाँबाट बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा पुगी विसर्जन हुनेछ। करिब ८ किलोमिटर दूरीको यस यात्राका क्रममा विभिन्न ४४ स्थानमा रथ विश्रामको व्यवस्था मिलाइएको छ।
सुरक्षामा १५ सय प्रहरी र ड्रोन
रथयात्राको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार १५ सयभन्दा बढी प्रहरी ड्युटीमा खटिएका छन्। भिडभाडको निगरानी गर्न र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ड्रोन क्यामराको प्रयोग गरिएको छ। उच्छृङ्खल गतिविधि गर्ने र आपराधिक मानसिकता भएका व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिन सादा पोसाकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
रथयात्रालाई व्यवस्थित बनाउन १ हजार १ सदस्यीय मूल समारोह समिति र २१ वटा उपसमितिहरू फिल्डमा खटिएका छन्। श्रद्धालुहरूको सुविधाका लागि स्वास्थ्य, खानेपानी र सरसफाइ टोलीहरू परिचालन गरिएको छ।