गोरखा । बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो ।

बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको उनले जानकारी दिए ।

“यात्राको तयारी अवस्थामा वा यात्रामा रहनुभएकाहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म यात्रा नगर्न नगराउनु हुन अनुरोध छ,” जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । बाढीका कारण हालसम्म कुनै मानवीय क्षति नभएको सहायक प्रजिअ शर्माले बताए।

बाढीले पुल बगाएपछि स्थानीयसहित पर्यटक प्रभावित बनेको नाम्रुङका स्थानीय लाक्पा डुन्डुपले बताए । “बाढीपहिरोले हामीलाई सङ्कटमा पार्‍यो । गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि बगायो । कतै जान पनि नमिल्ने भयो,” उनले भने ।

दुईवटा लघुजलविद्युत् आयोजना बगाएर लगेपछि बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट चल्ने सबै सेवा प्रभावित भएका छन् ।

यस वर्षको शरद ऋतु ९असोज, कात्तिक० मा २९ टोलीका तीन सय ४८ आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागबाट अहिलेसम्म कुल ३२ टोलीका तीन सय ६७ आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका तीन सय ४८ आरोही रहेको विभागले जनाएको छ ।

पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित हुने भएको छ । लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा अलपत्र परेका छन् । रासस