चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रूपमा बन्द गरिने भएको छ ।

सोमबार बिहानदेखि जिल्ला प्रशासन कार्यालय, चितवनले सडक आंशिक बन्द हुने जनाएको छ । तुइन खोलामा पहिरो रोकथाम तथा व्यवस्थापनको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको हो । 

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गर्दै नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम गरिने जनाइएको छ । सूचनाअनुसार कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन नियमित रूपमा सञ्चालन नहुँदासम्म तुइन खोलामा पहिरो व्यवस्थापनको काम जारी रहनेछ ।

तुइन खोलामा समय–समयमा पहिरो खस्ने भएकाले सम्भावित रूपमा झर्न सक्ने माथिल्लो भागको माटो पन्छाउने तथा पहिरो व्यवस्थापन गर्ने काम गरिने प्रशासनले जनाएको छ ।

कामका क्रममा सवारी आवागमन पूर्ण रूपमा बन्द नगरी समय–समयमा सडक खुला गरिनेछ । सूचनाअनुसार नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ८:०० बजेदेखि ८:३० बजेसम्म, १०:३० बजेदेखि ११:०० बजेसम्म, दिउँसो १:०० बजेदेखि १:३० बजेसम्म, ३:५० बजेदेखि ४:०० बजेसम्म र साँझ ६:०० बजेपछि सवारी सञ्चालन गरिनेछ ।