विजयपुर । भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएको १२८ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीबाट लुकाइछिपाई राखिएको अवस्थामा मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आइतबार इलाका प्रहरी कार्यालय देवानगञ्ज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मल बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको १२८ बोरा युरिया मलको अनुमानित मूल्य १ लाख ६६ हजार ३ सय रुपैयाँ रहेको छ । सोही क्रममा को. ५ प. ९१२० नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको मल तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।