विजयपुर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका जोड्ने मैवाखोलाको पुलबाट सोमबार बिहान ट्याक्टर खोलामा खस्दा बेपत्ता भएका चालक र सहचालक दुवै सकुशल भेटिएका छन्।

हाङ्पाङ्बाट काठको गोलिया लिएर अरुण भेनियरतर्फ जाँदै गरेको प्र १–०२–००३ त ३०४८ नम्बरको ट्याक्टर बिहान २:४० बजे मेरिङदेन–३ दोभानबजार नजिकैको पुलबाट खसेको थियो। दुर्घटनामा चालक मैवाखोला–१ का १९ वर्षीय समीर बराइली र सहचालक अनिल नाल्बो बेपत्ता भएका थिए। केही समयपछि बराइली आफैँ प्रहरीको सम्पर्कमा आएका छन्। उनले आफू र नाल्बो दुवै पौडिएर खोलाबाट बाहिर निस्किएको बताएका छन्। नाल्बो भने अझै प्रहरीको सम्पर्कमा आएका छैनन्।

प्रहरीका अनुसार ट्याक्टर पुलबाट करिब १५ मिटर तल खसेर खोलाको तीव्र बहावले थप २० मिटर तल बगाएको थियो। घटनापछि प्रहरीले खोजी कार्य थालेको थियो। ट्याक्टरमा सवार १४ वर्षीय समीर नाल्बो भने घटनाअघि नै ओरालोको अप्ठ्यारो बाटोका कारण झरेका थिए। उनले बिहान ४:२० बजे इलाका प्रहरी कार्यालय दोभान पुगेर घटनाबारे जानकारी दिएका थिए।