काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको सहयोग र भरोसा आवश्यक रहेको बताएका छन् ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी राजधानी फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गरे । सम्बोधनमा राष्ट्रपति पौडेलले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नलिई समस्या समाधानका लागि प्राप्त महत्त्वपूर्ण सङ्केतका रूपमा बुझ्न सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गरे ।
“विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो,” राष्ट्रपति पौडेलले भने, “त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्त्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु ।”
उनले बाढीपीडितको उद्धार, खोजी, राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई अझ प्रभावकारी बनाउन सरकारका सबै तह, निकाय, संरचना र सम्बन्धित पक्षबीच आवश्यक समन्वय भइरहेकोमा आफू विश्वस्त रहेको बताए ।
राष्ट्रपति पौडेलले यस कठिन र दुःखद् घडीमा आफू पनि पीडित नागरिकसँगै रहेको बताए। उनले प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकलाई राज्यको साथ र भरोसा आवश्यक रहेको उल्लेख गरे।
परिवारका सदस्य तथा साथीभाइको खबरको प्रतीक्षामा रहेका नागरिकलाई खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाउँदै उनले अनिश्चितताको यो पीडा सिङ्गो राष्ट्रले महसुस गरिरहेको बताए।
राष्ट्रपति पौडेलले उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अन्य जोखिममा रहेका नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
अस्थायी आश्रयस्थल सुरक्षित, व्यवस्थित र मर्यादित हुनुपर्नेमा पनि उनले जोड दिए। नेपाली तथा विदेशी नागरिकका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनलाई घर फर्काउन आवश्यक सहजीकरण र मानवीय सहयोग उपलब्ध गराउनुपर्ने उनले बताए।
बाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो। आवश्यकतानुसार डीएनए नमुना तथा अन्य अभिलेख सुरक्षित राखी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन सरकारले विशेष ध्यान दिनेमा आफू विश्वस्त रहेको उनले बताए।
राष्ट्रपति पौडेलले भदौ १० गते हिमनदीको बरफ तथा चट्टानसहितको हिमपहिरो खसेर आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको बताए। विपत्तिले मानव जीवन, घरपरिवार र जीविकोपार्जनका आधार बगाउनुका साथै सडक, पुल, जलविद्युत् आयोजनालगायत महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्याएको उनले उल्लेख गरे।
उनले विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकको खोजी र उद्धार कार्य सफल होस् भन्ने कामना पनि उनले गरे।
विपत्तिको समयमा प्रत्यक्ष रूपमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न व्यक्ति तथा संस्थाप्रति राष्ट्रपति पौडेलले उच्च सम्मान व्यक्त गरे।
उनले उद्धारमा संलग्न धेरै व्यक्तिले आफ्नो ज्यानको समेत पर्वाह नगरी जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेर पीडितको उद्धार गरिरहेको बताए। कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा जोखिमपूर्ण परिस्थितिलाई उद्धार कार्य रोक्ने कारण बनाउन नहुनेमा उनले जोड दिए।
नेपालमा कार्यरत, पर्यटक, हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका तथा आध्यात्मिक यात्राका क्रममा रहेका विदेशी नागरिकमध्ये विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति पनि राष्ट्रपति पौडेलले श्रद्धाञ्जली व्यक्त गरे। उनीहरूका परिवारप्रति नेपालका तर्फबाट समवेदना व्यक्त गर्दै प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगसँग सहकार्य गर्ने बताए।
यस कठिन घडीमा खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराएर सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति पनि राष्ट्रपति पौडेलले कृतज्ञता व्यक्त गरे।
नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गरेको स्मरण गर्दै उनले नेपाली जनताले हरेक पटक साहस, धैर्य, संयम र दृढताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताए।
राष्ट्रपति पौडेलले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा नागरिकलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन आह्वान गरे। “यो विभाजनको समय होइन। एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन,” उनले भने, “यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो।” उनले अहिले पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने बताए। विपत्तिपछि विकासको मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले पछिल्लो विपत्तिले नेपालको हिमाली पर्यावरण अत्यन्त नाजुक अवस्थामा रहेको देखाउनुका साथै बढ्दो विश्वव्यापी तापक्रम र त्यसबाट सिर्जित जोखिमप्रति गम्भीर हुनुपर्ने सन्देश दिएको बताए। उनले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष ठोस तथा प्रभावकारी कदम चाल्न आह्वान गरे। अन्त्यमा राष्ट्रपति पौडेलले अप्रत्याशित तथा भयावह विपत्तिको सामना गर्दै त्यसबाट पार पाउन सबैलाई आवश्यक शक्ति, साहस र धैर्य प्राप्त होस् भन्ने कामना गरे।रासस