सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा निर्माण गरिएको प्रसूति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा नआउँदा स्थानीय सेवाग्राही समस्यामा परेका छन्।

चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्यचौकी परिसरमा बर्थिङ सेन्टर निर्माण गरी विसं २०७९ चैत १५ गते शुभारम्भ गरिएको थियो। तर दक्ष जनशक्ति, आवश्यक उपकरण तथा आर्थिक स्रोतको अभावमा सेन्टर सञ्चालन हुन नसकेको स्थानीय सुनिता यादवले बताइन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वीकृत बजेटबाट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर निर्माण गरिएको हो। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश झाले लौनिया र तोपामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको जानकारी दिँदै वरसाइनमा पनि सेवा सञ्चालन गर्ने नीति रहेको बताए। वरसाइन स्वास्थ्यचौकीका प्रमुख मनोज देवका अनुसार बर्थिङ सेन्टरमा चार वर्षको अवधिमा एक जनाले मात्र सेवा लिएका छन्।

स्थानीय सीता मण्डलले गाउँमै बर्थिङ सेन्टर निर्माण भए पनि सञ्चालनमा नआउँदा स्वास्थ्य तथा प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन्। गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले विसं २०७९ चैत १५ गते बर्थिङ सेन्टरको शुभारम्भ गरेका थिए। तिलाठी कोइलाडी–५ का वडाध्यक्ष ललनप्रसाद राउतले कर्मचारी अभावका कारण बर्थिङ सेन्टर बन्द रहेको बताए।

हाल स्वास्थ्यचौकीमा चार जना कर्मचारी र एक जना कार्यालय सहयोगी कार्यरत छन्। बर्थिङ सेन्टर सञ्चालनका लागि तत्कालीन समयमा वडा कार्यालयको बजेटबाट आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले दक्ष जनशक्ति अभावका कारण बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको बताए। रासस