काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायसमक्ष एकढिक्का भएर उभिन आह्वान गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एकजुट भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे। सरकारले दिनरात नभनी उद्धार तथा खोजी कार्यमा सक्दो प्रयास गरिरहेको बताउँदै उनले प्रियजन गुमाएका नागरिकले ‘राज्यले केही गरेन’ भन्दै गुनासो गर्नु स्वाभाविक भएको बताए।

“गहिरो चोटमा परेको मानिसले भगवान्लाई समेत सराप्छ भने सरकार, रास्वपा र राज्यप्रति गुनासो तथा आक्रोश पोख्नु कुनै ठूलो कुरा होइन,” उनले भने, “पीडामा परेर आक्रोश व्यक्त गरिरहेकाहरूमाथि सामाजिक सञ्जालमा गरिने अवाञ्छित टिप्पणी सह्य हुँदैन। यस्तो कार्यमा रास्वपाका कुनै कार्यकर्ता संलग्न छन् भने कारबाही गरिनेछ। सरकारले पनि कानुनबमोजिम कारबाही गरोस्।”

विपद् व्यवस्थापनका लागि प्रतिपक्षबाट आउने रचनात्मक सुझावलाई आत्मसात् गर्न सरकारलाई आग्रह गर्दै उनले विपद्का नाममा राजनीति नगर्न सबै पक्षलाई आग्रह गरे। जलवायु सङ्कटमा परेका नागरिक जलवायु अन्यायका पीडित भएको उल्लेख गर्दै सभापति लामिछानेले यस विपत्तिका कारक पीडित नागरिक नभएको बताए। 

“जलवायु सङ्कटको असमान भारका कारण जीवन गुमाउन विवश भएकाहरूलाई श्रद्धाञ्जली दिएर मात्रै पुग्दैन, विश्वसँग न्याय माग्ने साहस बटुल्नुपर्छ,” उनले भने। उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्ताको प्रशंसा गर्दै उनले विपद्का बेला मित्रराष्ट्रहरूले दिएको साथ र सहयोगप्रति आभार व्यक्त गरे। सङ्कटका बेला निजी क्षेत्र, सञ्चार क्षेत्र तथा गैरआवासीय नेपाली समुदायले गरेको योगदानको समेत उनले प्रशंसा गरे।रासस