मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका अहिले मुख्य व्यापारिक मार्गका रूपमा चलायमान बनेको छ। यसअघि उपल्लो मुस्ताङका नागरिकको दैनिक किनमेलमा सीमित रहेको नाका रसुवागढी र तातोपानी नाका बन्द भएपछि वैकल्पिक आयात–निर्यात मार्ग बनेको हो।
कोभिडका कारण चार वर्ष बन्द रहेको कोरला नाका २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो। पछि तल्लो मुस्ताङका नागरिकलाई पनि सीमापार पास दिइएको थियो। सुरुमा कारोबार स्थानीयस्तरमै सीमित हुँदा मुस्ताङ भन्सारले वार्षिक रु १० देखि १५ करोड मात्रै राजस्व उठाउँथ्यो।
गत वर्ष भदौ ३१ गतेदेखि कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि कारोबार बढ्न थालेको हो। बाढी, पहिरो र नदी कटानका कारण तातोपानी र रसुवागढी नाका बन्द भएपछि कोरला नाकाबाट आयात–निर्यात बढेको छ।
यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवागढी नाका पूर्ण रूपमा बन्द भएको छ। त्यसपछि केरुङ नाकामा रोकिएका १७६ वटा मालवस्तुका कन्टेनर कोरला नाकातर्फ डाइभर्ट भएका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार अहिले सडक आसपास र भन्सार यार्डमा गरी ३५० भन्दा बढी कन्टेनर रोकिएका छन्।
चीनबाट तयारी लत्ताकपडा, शृङ्गारका सामग्री, औद्योगिक कच्चा पदार्थ, फलफूल र खाद्य पदार्थ बोकेका कन्टेनर कोरला नाकातर्फ आएका छन्। अहिले दैनिक ५० भन्दा बढी कन्टेनर चीनको लिजीतर्फ प्रवेश गर्ने गरेका छन्।
रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो। भदौ १० गतेपछि थप रु २६ करोडभन्दा बढी उठेको छ। चालु आव २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म मुस्ताङ भन्सारले रु ७८ करोडभन्दा बढी राजस्व सङ्कलन गरिसकेको छ।
रसुवागढी नाका बन्द भएपछि नौ दिनमा ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ। यसअघि ४० दिनमा १६३ वटा विद्युतीय सवारी र १३३ वटा कन्टेनरको मात्रै जाँचपास भएको थियो।
भदौ १० अघिसम्म दैनिक औसत रु १ करोड ३० लाख राजस्व उठ्दै आएकोमा त्यसपछि दैनिक औसत रु २ करोड ८८ लाखभन्दा बढी पुगेको छ।
मुस्ताङ भन्सारले गत आव २०८२/८३ मा रु ६ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो। सो वर्ष चीनबाट रु १४ अर्ब ४० करोडभन्दा बढीको मालवस्तु आयात र रु २० करोड ५० लाखभन्दा बढीको सामान निर्यात भएको थियो। गत वर्ष कोरला नाकाबाट ३ हजार २२३ वटा विद्युतीय गाडी र १ हजार ८७३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो।
चालु आवमा रु ९ अर्बभन्दा बढी राजस्व उठाउने लक्ष्य रहे पनि रसुवागढी नाका बन्द भएपछि लक्ष्यभन्दा बढी राजस्व उठ्ने देखिएको भन्सार प्रमुख चुडालले बताए। रासस