विजयपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

बिहीबार मन्त्री यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

यादवले बुधबार संघीय संसद्को उद्योग समितिको बैठकमा ग्यास उद्योगीहरूप्रति विवादित टिप्पणी गरेकी थिइन्। 

बैठकमा उनले नेपालमा सञ्चालित ५८ वटा ग्यास उद्योगको लाइसेन्समाथि समेत प्रश्न उठाउँदै आवश्यक परे लाइसेन्स खारेज गर्नुपर्ने धारणा राखेकी थिइन्। निजी क्षेत्रको भरमा मात्र ग्यास आपूर्ति व्यवस्थापन गर्न नसकिने भन्दै उनले नेपाल आयल निगमको स्वामित्वमा आफ्नै ग्यास उद्योग स्थापना गर्नुपर्ने प्रस्तावसमेत अघि सारेकी थिइन्।

ग्यास अभाव चुलिएका बेला मन्त्री यादवको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि उनको राजीनामालाई त्यससँग जोडेर हेरिएको छ। यद्यपि, राजीनामाको औपचारिक कारण भने सार्वजनिक रूपमा स्पष्ट भइसकेको छैन।