विजयपुर । सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमालयन स्कुल/कलेजले बाढीपीडितका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयका विद्यार्थी, शिक्षक तथा कलेजको तर्फबाट भोटेकोसीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहतका लागि सहयोग गरिएको हो ।

विद्यार्थीहरूको सक्रियतामा शिक्षक तथा विद्यार्थीबाट संकलित रकम बिहीबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन नेपाल (एनप्याब्सन) धरानका अध्यक्ष भगत लिम्बूलाई हस्तान्तरण गरिएको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । 

एनप्याब्सन अध्यक्ष लिम्बूले धरानका विभिन्न विद्यालयबाट बाढीपीडितका लागि सहयोग रकम संकलन भइरहेको बताए । सबै विद्यालयबाट रकम संकलन भएपछि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने उनले बताए ।

उनले भने, “धरानका विभिन्न स्कुलबाट बाढीपीडितका लागि रकम उठ्ने क्रम जारी छ ।” विद्यार्थीको पहलमा सहयोग रकम संकलन गरी विपद्मा परेकाहरूलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उनले बताए । मेघा हिमालयन स्कुल/कलेजका अध्यक्ष राजेश विद्रोहीले विपद्का बेला सानो सहयोगले पनि पीडितलाई राहत पुग्ने बताए ।

विद्यार्थी जिज्ञासा भट्टराईले मानवीय सहयोग गर्नु आफ्नो दायित्व भएको बताइन् । विद्यार्थी सन्जिना राई, सिना राई र बिमोश विश्वकर्माले स्वस्फूर्त रूपमा रकम संकलन गरेका थिए । उनीहरूका अनुसार केही विद्यार्थीले खाजा खर्च कटाएर तथा केहीले तत्काल आवश्यक नभएका व्यक्तिगत खर्चका लागि छुट्याएको रकम सहयोग गरेका हुन् ।

801886830_2604105096704959_4659382673903795858_n

801963857_1426689722663135_8602091674737310791_n