विजयपुर । मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार तथा मनोविज्ञ डा. किशोर अधिकारीले कानुन पढ्ने विद्यार्थी भविष्यमा न्यायका नेतृत्वकर्ता बन्ने भएकाले विद्यार्थी जीवनदेखि नै आफ्नो आचरण र व्यवहार व्यावसायिक बनाउनुपर्ने बताएका छन् ।

मनमोहन कानुन अध्ययन केन्द्रको तेस्रो वर्ष प्रथम सेमेस्टरका विद्यार्थीका लागि बिहीबार विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै डा. अधिकारीले कानुनको अध्ययन धेरै गरेर मात्र सफल कानुन व्यवसायी बन्न नसकिने बताए । उनले विद्यार्थीलाई अध्ययनसँगै आफ्नो व्यवहार, निर्णय क्षमता र व्यक्तित्व विकासमा समेत ध्यान दिन आग्रह गरे ।

विद्यार्थीलाई उत्प्रेरित गर्दै उनले भने, ‘मनमोहन विश्वविद्यालयमा कानुन पढ्ने विद्यार्थी न्यायका नेतृत्वकर्ता पनि हुन् । त्यसैले विद्यार्थी जीवनदेखि नै आफ्नो आचरण र व्यवहार व्यावसायिक बनाउन जोड दिनुपर्छ ।’ मनोपरामर्श तथा चिकित्सा विज्ञसमेत रहेका डा. अधिकारीले विश्वमा सफल कानुन व्यवसायीको सामाजिक हैसियत र सम्मान उच्च रहेको उल्लेख गर्दै त्यसका लागि सही निर्णय गर्ने क्षमता, मानवीय अभिरुचि र व्यावसायिक आचरण आवश्यक रहेको बताए ।

उनले मनमोहन प्राविधिक विश्वविद्यालयले विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर शैक्षिक कार्यक्रम तथा गतिविधि सञ्चालन गरिरहेको दाबी गर्दै विश्वविद्यालय चाँडै दक्षिण एसियाको शैक्षिक मानचित्रमा स्थापित हुने बताए । कार्यक्रमकी प्रमुख उत्प्रेरक वक्ता भारत पश्चिम बंगालस्थित कुचबिहारको इन्डियन इन्स्टिच्युट अफ लिगल स्टडिजकी प्रमुख कानुन विज्ञ डा. जयती खर्गाले कानुनी शिक्षा कानुनका धारा र सिद्धान्तमा मात्र सीमित नभई न्याय, नैतिकता र सामाजिक जिम्मेवारीसँग जोडिनुपर्ने बताइन् ।

उनले भविष्यका सफल कानुन व्यवसायीमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता, आलोचनात्मक सोच र सामाजिक न्यायप्रतिको प्रतिबद्धता आवश्यक रहेको बताइन् । कानुन र न्यायको सम्बन्ध अदालतमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले समाजका हरेक क्षेत्रमा समानता, मानव गरिमा र न्यायको संरक्षण आवश्यक रहेको धारणा राखिन् ।

कानुनी शिक्षाले विद्यार्थीलाई पेशागत रूपमा सक्षम बनाउनुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवार नेतृत्वकर्ताका रूपमा तयार गर्नुपर्नेमा उनले जोड दिइन् । मनमोहन प्राविधिक विश्वविद्यालयको उद्देश्य सक्षम तथा कर्पोरेट क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्ने कानुन व्यवसायी उत्पादन गर्नु रहेको बताउँदै उनले विद्यार्थीलाई अध्ययनसँगै अनुसन्धानमा पनि जोड दिन आग्रह गरिन् ।

‘कानुनी शिक्षाको उद्देश्य केवल दक्ष वकिल उत्पादन गर्नु मात्र होइन, न्याय र सामाजिक कर्तव्यप्रति सचेत नागरिक तथा नेतृत्व निर्माण गर्नु पनि हो,’ डा. खर्गाले भनिन् । मनमोहन कानुन अध्ययन केन्द्रका प्राचार्य कोषराज न्यौपानेले विश्वविद्यालयले आफ्ना कमजोरी लुकाउनेभन्दा पारदर्शी रूपमा पहिचान गरी सुधार गर्दै जाने नीति लिएको बताए । विश्वविद्यालयले क्यूआर प्रविधिमार्फत विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले शैक्षिक कार्यक्रम र अनुशासनसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सक्ने व्यवस्था गरेको उनले जानकारी दिए ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक भीमप्रसाद काफ्लेले विद्यार्थीको परीक्षा समयमै सञ्चालन गरी परीक्षाफलसमेत समयमै प्रकाशन गर्ने नीति विश्वविद्यालयले लिएको बताए । उनले विश्वविद्यालयले अनुशासनका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । अभिभावक तुलसी नेपालले काठमाडौं पठाउनुपर्ने आफ्ना सन्तानलाई आफ्नै प्रदेशमा कानुन अध्ययन गराउन पाउँदा गर्व लागेको बताए । उनले विश्वविद्यालयको परीक्षा प्रणाली र अध्यापन उत्कृष्ट रहेको दाबी गरे ।

अभिमुखीकरण कार्यक्रममा मनमोहन कानुन अध्ययन केन्द्रले विद्यार्थीलाई सहुलियत तथा जेहेन्दार छात्रवृत्तिसमेत वितरण गरेको थियो । मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतको मनमोहन इन्स्टिच्युट अफ लले तीन वर्षदेखि कानुनमा पाँचवर्षे बीएएलएलबी तथा अपराध कानुनमा दुईवर्षे एलएलएम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।