विजयपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।

शुक्रबार बिहान महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको सीमाक्षेत्रमा पर्ने हुङ्गा खोलामा पहिरो खसेको हो । गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सोताङ तथा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरीले पहिरोका कारण खोलाको पानी थुनिएपछि तटीय क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै आसपासका बस्ती तथा हाइड्रोपावर आयोजनालाई सतर्क गराएको छ ।

प्रहरीले हुङ्गा खोलाको तटीय क्षेत्रमा रहेका गाउँबस्तीका स्थानीयलाई घटनाबारे जानकारी गराएको छ । गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोशी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरमा कार्यरत कामदार र सवारीसाधनलाई सुरक्षित स्थानमा जान सूचित गरेको प्रहरीले जनाएको छ ।

हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका–२ स्थित बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ । त्यसपछि उक्त पानी खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

प्रहरीका अनुसार पहिरोका कारण बनेको ड्यामको ताल भरिएपछि पानी निकास हुन सुरु भएको छ । ड्यामबाट पानी बग्न थाले पनि खोलामा थप पहिरो खस्ने वा पानीको बहावमा अचानक वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राखी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । घटनास्थलमा प्रहरी टोली परिचालन गरी अवस्थाको निगरानी भइरहेको छ ।