विजयपुर । गत वर्ष जेनजी आन्दोलनमा फरार कैदी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार टोखा नगरपालिका–१, मिलनटोलस्थित एक गेस्ट हाउसबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–९ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिश थापा मगर रहेका छन् । उनले सुनजस्तो देखिने धातु देखाएर ठगी गरेको आरोप छ ।
प्रहरीका अनुसार थापा मगरले सुनजस्तो देखिने पहेँलो धातु देखाई पटक–पटक गरी रु. १ करोड ३९ लाख ३० हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ८५६ ग्राम समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार छ । यसैबीच, पक्राउ परेका थापा मगर जबरजस्ती करणी कसुरमा कैद भुक्तान गरिरहेका व्यक्ति रहेको खुलेको छ । उनी २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेको समेत अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।