काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य निर्माणका लागि भएको बताएका छन् ।
राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नारासहित राष्ट्रिय बाल दिवस मनाइँदैछ । बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाउन सके मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन् ।
नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गर्दै बालबालिकाको अधिकार संरक्षणप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको उनले बताएका छन् । नेपालको संविधानको धारा ३९, राष्ट्रिय बालबालिका नीति, २०८० तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि बालबालिकाका मौलिक तथा कानुनी अधिकार सुनिश्चित गरेको उनको भनाइ छ ।
अबको प्राथमिकता संवैधानिक तथा कानुनी रूपमा सुनिश्चित अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा व्यवहारमै अनुभूति गराउनु रहेको प्रधानमन्त्री शाहले बताएका छन् । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र जिम्मेवारी आवश्यक रहेको उनले जोड दिएका छन् । स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह तथा बालमैत्री वातावरण निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ छ ।