रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका क्रममा चार जनाको शव फेला परेका छन् ।

भाद्र १० गते आएको बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको थियो । टोलीले हेलिकप्टरमार्फत स्याफ्रुबेँसीमा पुर्‍याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोड्दै करिब १ हजार ५० मिटर बाटो निर्माण गरेर सुरुङसम्म पहुँच पुर्‍याएको थियो ।

सुरुङभित्रको भग्नावशेष हटाउने क्रममा करिब ७० मिटरको स्थानबाट पानी निस्किरहेको प्वाल फेला परेको थियो । उक्त प्वालबाट उद्धार टोली सुरुङभित्र प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गरेको थियो । तर, पानीको सतह सुरुङको माथिल्लो भागसम्म पुगेपछि एक्स्काभेटर प्रयोग गर्न नसकिने अवस्था बनेको थियो ।

बुधबार गोताखोरसहितको टोलीले पानी निस्किएको प्वालबाट सुरुङभित्र प्रवेश गरी अन्तिम किनारासम्म खोजी गर्दा तीन वटा शव फेला पारेको हो । फेला परेका तीन शवमध्ये दुई वटा शव उद्धार गरी बाहिर निकालिएको छ । बाँकी एक शव निकाल्ने तथा सुरुङभित्र थप खोजी कार्य जारी रहेको जनाइएको छ ।