विजयपुर । सुनसरीको धरान–१२ स्थित मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
शुक्रबार धरान–१५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीले गायन तथा नृत्यसहित २२ वटा सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा धरान उपमहानगरका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।
उनले विद्यार्थीले औपचारिक शिक्षासँगै अतिरिक्त क्रियाकलाप तथा जीवनोपयोगी सीपको विकासमा समेत ध्यान दिनुपर्ने बताए । कलेजका अध्यक्ष राजेश विद्रोहीले अनुभवी शिक्षकमार्फत अध्यापन गराउँदै आएको बताए । उनले कलेजको शैक्षिक गुणस्तरमा सुधार हुँदै गएकाले विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको बताए । उनले विद्यार्थीलाई अनुशासित भएर ज्ञान र सीप हासिल गर्न आग्रह गरे । कार्यक्रममा उत्कृष्ट शिक्षकका रूपमा प्रमोद श्रेष्ठलाई सम्मान गरिएको थियो ।
नवआगन्तुक विद्यार्थीलाई कलेजका प्रधानाध्यापक दीपक घिमिरेले स्वागत गरे । कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, होटल म्यानेजमेन्ट, कम्प्युटर म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय अध्यापन हुँदै आएको छ । कलेजमा यस शैक्षिक सत्रमा कक्षा ११ मा ५ सय ७० जना विद्यार्थी भर्ना गरेको जनाएको छ ।

