काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ४३४ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन् । फेला परेका शवको पहिचानका लागि डीएनए नमूना सङ्कलन गरिएको छ । प्रहरीले हालसम्म १ हजार २९२ शवको व्यवस्थापन गरेको जनाएको छ ।

शव पहिचानका लागि मृतकका आफन्तबाट १ हजार ९९७ र मृतकबाट १ हजार २८६ गरी कुल ३ हजार २८३ वटा डीएनए नमूना सङ्कलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यमा हालसम्म ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बाढीपछि बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस